Khadya Bibhag

सिरहाका सामुदायिक विद्यालय आजदेखि सुचारु

सिरहा जेठ ३ गते । भूकम्पको त्रासका कारण बन्द रहेको सिरहाका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आएका छन् ।

पटक–पटकको भूकम्पका कारण त्रास फैलिरहेका बेला गत मङ्गलबार पुनः अर्को ठूलो धक्का महसुस गरिएपछि शुक्रबारसम्मका लागि बन्द गरिएको सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आएको सिरहाका जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले बताउनुभयो ।

यद्यपि भूकम्पले सिरहाका दुई दर्जनभन्दा बढी विद्यालयको संरचनामा क्षति पुगेपछि पठन–पाठनमा समस्या भएको छ । भवन जीर्ण भएपछि कतिपय विद्यालयले चौरमै राखेर पढाइ सुरु गरेका छन् । सुरक्षाका दृष्टिकोणले भत्किएका र जीर्ण अवस्थामा रहेका विद्यालयलाई सुरक्षित स्थानमा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जिशिअ कटुवालले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालय र प्रहरीको संयुक्त टोलीले अनुगमन थालेपछि हालसम्म ४० भन्दा बढी विद्यालय क्षति भएको देखिएको छ । क्षति पुगेका केही विद्यालयको भवन तत्कालै मर्मत सम्भार नगरिए अप्रिय घटना हुनसक्ने भएकाले मर्मत तथा पुनःनिर्माणका लागि सम्बन्धित निकायमा आवश्यक जानकारी गराइएको जिशिअ कटुवालले बताउनुभयो ।

यता केही निजी विद्यालयले भने पढाइलाई निरन्तरता दिएका छन् तर विद्यालयमा विद्यार्थीको उपस्थिति एकदमै न्यून हुने गरेको विद्यालय सञ्चालकले बताएका छन् ।

तपाईको प्रतिक्रिया