Khadya Bibhag

मैथिली भाषाको बारेमा भ्रम नछर्न सञ्चारमाध्यमलाई परिषद्को आग्रह

राजविराज बैशाख ८ गते । मैथिली साहित्य परिषद् सप्तरीले केही सञ्चार माध्यमले मैथिला भाषाको बारेमा भ्रामक समाचार सार्वजनिक गरेको भन्दै दुःख व्यक्त गरेको छ ।
      मैथिल भवन राजविराजमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष शुभचन्द्र झाले आगामी परिषद् र मैथिली भाषाको विषयमा भ्रामक सन्देश प्रवाह नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीसँग आग्रह गरेका छन् । केही  सञ्चारमाध्यमले जिल्लामा हाल सञ्चालित सघन साक्षरता अभियानमा मैथिली भाषा माध्यम बनाएको कारणले अधिकाँशले नबुझेको, बुझाउन नसकेको तथा परिषद्ले जबरजस्ती मैथिली भाषाको पाठ्यपुस्तक लागु गरेको भन्ने आशयको समाचार प्रकाशन प्रसारण भएको गरेको थियो ।
      सप्तरी जिल्लामा बहुसंख्यक मैथिली भाषी रहेको अवस्थामा मैथिली भाषामै पठन–पाठन गरिए शिक्षण सिकाई प्रभावकारी हुने भएकोले आफूहरुले त्यसलाई व्यवहारमा लागु गराउनका लागि जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको अध्यक्ष झाले प्रष्ट पारे ।
विगतको जस्तै आगामी दिनमा पनि सञ्चारकर्मीको सहयोगको अपेक्षा गर्दै उनले आगामी दिनमा अझ बढी सक्रियता, सल्लाह, सुझाव र सहकार्यको अपेक्षा पत्रकार सम्मेलनमा परिषद्को तर्फबाट अध्यक्ष उनले आग्रह गरे ।
      नेपालको दोस्रो ठूलो भाषा भएर पनि मैथिली उपेक्षाको सिकार हुँदै आएको चर्चा गर्दै सोहि अवसरमा परिषदका पुर्व अध्यक्ष तथा मैथिल महासंघ नेपालका केन्द्रीय अध्यक्ष विष्णुकुमार मण्डलले जिल्लामा ९० प्रतिशतभन्दा बढी मैथिली भाषी रहेको भन्दै उक्त भाषाको उत्थान तथा विकासका लागि सञ्चार क्षेत्रवाट पनि भुमिका खेल्नुपर्नेमा जोड दिए ।
      परिषदका उपाध्यक्ष सतिश कुमार दत्तले जिल्लामा मैथिलीमा पठनपाठनका लागि परिषद् विगतदेखि नै सक्रिय रहेको र लामो प्रयासपछि बल्ल सघन साक्षर अभियान मैथिलीमा सुरु भएको जानकारी दिए । परिषद्ले पाठ्यपुस्तकको भाषा सम्पादनको कार्य मात्र गरेको प्रष्ट्याउँदै उनले आफूहरुको उद्देश्य मैथिलीमा पठनपाठन हुनुपर्ने मात्र रहेको दावी गरे । उनले परिषद् आर्थिक लेनदेनमा संलग्न रहेको भन्ने आसयको समाचार आएको प्रति दुःख व्यक्त गरे ।
      कार्यक्रममा परिषदका सचिव श्यामसुन्दर यादवले सघन साक्षरता कक्षामा सहजकर्ताले पढाउने भाषा मात्र मैथिली रहेको भएपनि लिपि देवनागरी नै रहेकोले कुनै समस्या नभएको भन्दै कक्षाका सहभागिहरुले समेत मैथिलीमा पढ्न पाउँदा खुशी व्यक्त गरेको बताए । साक्षरता अभियानमा खटिएका करिव ९० प्रतिशत सहयोगी कार्यकर्ताहरु मैथिली मातृभाषी रहेको तथा सहभागी पनि मैथिलीभाषा नै रहेकोले सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
      शिक्षा कार्यालयले नेपालीमा प्रशिक्षण दिएकोले शिक्षण सिकाई प्रभावकारी नहुने भनि आशयको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएकोतर्फ इंङ्गित गर्दै सचिव यादवले भने– सप्तरीवासीलाई मैथिली भाषामा प्रौढ सहभागी कसरी सिकाउने हो त्यसबारे प्रशिक्षणको आवश्यकता छैन, आमाको काखबाटै यहाँका वासिन्दाहरु भाषिक ज्ञान, कला, संस्कृति, सभ्यता र परिवेशको विषयमा प्रशिक्षित छन् । मैथिली भाषामा पठन–पाठनले गर्दा सहभागीहरु झन उत्साहित भएको प्रष्ट पारे ।
      जहाँ बहुसंख्यक समुदायको भाषा मैथिली हुन्छ भने त्यहाँका वासिन्दाहरुले आफ्नै मातृभाषाको शब्द बुझ्दैनन् भने टिप्पणी गर्नु हास्यास्पद भएको बताउँदै सचिव यादवले भने– सप्तरी जिल्लामा वर्षौदेखि बसोवास गर्दैआएका पहाडी समुदायका व्यक्तिहरु समेत निर्धक्क मैथिलीमै वार्तालाप गर्छन्, यहाँ त छुट्याउनै गाह्रो हुन्छ को मैथिलीभाषी हुन् र को नेपालीभाषी ? यो नै सप्तरीको विशेषता हो ।
      मातृभाषामा पठन–पाठनको सुनिश्चितता नेपालको अन्तरिम संविधानले समेत गरिसकेको अवस्थामा सप्तरीमा मैथिली भाषामा अनौपचारिक शिक्षाको कक्षाहरु सञ्चालन हुनु सकारात्मक रहेको बताउँदै विद्यालयहरुमा समेत आधारभूत शिक्षाको माध्यम मैथिली हुनुपर्ने बताए ।
विगतमा सञ्चारमाध्यमहरुले निभाएको भूमिका सराहनीय रहेकोले आगामी दिनहरुमा सञ्चारकमी तथा सञ्चारमाध्यमहरुलाई थप सशक्त सहयोग गर्न सचिव यादवले आग्रह गरे ।  

तपाईको प्रतिक्रिया