राकेश यादव
रौतहट, ६ वैशाख । जिल्ला शिक्षा कार्यालय रौतहटको लापरवाहीका कारण यहाँका स्थानीय अभिभावकहरु ठगिदै गएपनि सम्बन्धित निकाय मुकदर्शक बनेका छन् । कुनैपनि निजी क्षेत्रमा विद्यालय संचालन गर्नका लागि अनिवार्य रुपमा जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिनुपर्ने भएपनि रौतहटमा कतिपय निजी क्षेत्रका विद्यालयहरु अनुमती नलिएर संचालनमा ल्याए पनि जिशिकाको ध्यान जान सकेको छैनन् ।
तर रौतहटमा अधिकाँश निजी विद्यालयहरु दर्ता नै नगरी धमाधम सञ्चालनमा ल्याएका छन् भने अनुमती लिएका निजी विद्यालयहरु स्वीकृत सँख्या भन्दा बढि कक्षा संचालन गर्दै आएको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याँक अनुसार यस जिल्लामा प्राथमिक, निम्म माध्यमिक र माध्यमिक विद्यालय गरी ३७ वटा मात्र निजी विद्यालयहरु दर्ता भएको देखिन्छ । बिना सम्बन्धन विद्यालय संचालन हुनु र दर्ता भएका विद्यालयहरुले पनि स्वीकति लिएको भन्दा बढी कक्षा संचालन गरिरहदा समेत सम्बन्धित निकायका पदाधिकारीहरुले अनुगमन तथा निरीक्षण गरेका कारण उनीहरुको मनोबल बढ्दै गएको बुझिएको छ ।
जिशिकाले एक तर्फ विज्ञप्ती निकालेर दर्ता नभएका निजी विद्यालयहरुमा विद्यार्थीहरु भर्ना नगराउन अनुरोध गरेपनि फितलो अनुगमन एवं निरीक्षणको अभावमा निजी क्षेत्रका माफियाहरुद्धारा निरन्तर रुपमा विना दर्ताकै कक्षा संचालन गरी विद्यार्थीहरुको भविष्य संग खेलवाड गरिरहेकोमा सम्बन्धित निकाय मौन बसेकोमा शिक्षाविद रामप्रसाद गुप्ताले गुनासो गरे ।
शिक्षाविद गुृप्ताका अनुसार दर्ता नै नगरी विद्यालय संचालन गर्ने र प्राथमिक तहको मात्र स्वीकृति लिनेले निमावी र माध्यमिक सम्मको पठन पाठन गराएर राजस्व चुहावट गरिरहेको छ भने अर्को तर्फ विद्यार्थीहरुको भविष्य संग खेलवाड गरिरहदा स्थानीय अभिभावकहरु सचेत भएर मात्रै निजी विद्यालयमा भर्ना गराउनुपर्ने अवस्था देखिन्छ ।
गौरमा मात्रै डिपिएस, क्याम्स, गिरीधारी, सेन्ट सिद्यार्थ, लगायतका करिव दुई दर्जन निजी विद्यालयहरु संचालनमा आएका हुन् । निजी विद्यालय अरगनाइजेशन प्याब्सनका सचिव गौतम श्रेष्ठले जिशिकाबाट दर्ता नभएका विद्यालयहरु संचालनमा ल्याएर केही शैक्षिक माफियाहरु अभिभावकहरु संग ठगी धन्धा सुरु गरेकोमा त्यसबाट सचेत हुन समस्त रौतहटबासी संग अपिल गरे ।
निजी विद्यालय संचालन गर्नका लागि २०६८ साल पनि कसैलाई इजाजत नदिएपनि हाल सम्म विना दर्ताको एक सय भन्दा बढि निजी विद्यालयहरु संचालनमा रहेका छन् ।
जिल्ला शिक्षा कार्यालय रौतहटका प्रशासन प्रमुख उपेन्द्र सिंहले यस बर्ष ६० वटा निजी विद्यालयले दर्ताका लागि निवेदन दर्ता गराएको जानकारी दिदै केही बर्ष देखि समितिका बैठक बस्न नसकेको कारण उक्त निवेदनहरु पेडिंगमा रहेको बताए ।



तपाईको प्रतिक्रिया