काठमाडौँ बैशाख—५ गते
मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर शनिवार मुलुकभर मातातीर्थ औंसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफंैमा महत्वपूर्ण छ,” यसको मतलब हामीले एक दिन मात्रै आमालाई सम्झौँ भन्ने होइन, यसले त सधैँ आमालाई सम्झनका लागि वर्षमा एकपल्ट सम्झाएको मात्रै हो । त्यसमाथि आमालाई सम्झनुजस्तो सुखद अरु के हुन्छ र ?
हाम्रा कतिपय संस्कार साँच्चिकै सुन्दर छन् । जीवन र समाज नाता सम्बन्धमा टिकेको हुन्छ । म कहिलेकाहीँ सोच्छु र साह्रै आनन्दको अनुभव गर्छु । कि हाम्रो नाता सम्बन्धलाई बलियो बनाउने अनेक पर्व छन् । दाजुबहिनी, दिदीभाइबीचको सम्बन्ध बलियो बनाउने भाइटीका । चेली र माइतीको, दम्पतीबीचको सम्बन्ध बलियो बनाउने तीजपर्व । सबै आफन्त जम्मा हुने र ठूलाबडाबाट आशीर्वाद लिने पर्व दसैँ । त्यस्तै, बुवाको मुख हेर्ने दिन भयो, आमाको मुख हेर्ने दिन । साँच्चिकै सुन्दर छन, कतिपय हाम्रा संस्कृति । दिवङ्गत आमाको सम्झनामा सधैं झै आज पनि काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा मेला लागेको छ । आज बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । यस्तै भक्तपुरका नेवार समुदायले भने भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिईरहेका छन् ।
आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरैजना घर र माइत जाने क्रम पनि चलिरहेको छ । आमालाई भेट्न जान नपाएकाहरुले पनि टेलिफोन गरेर आमालाई सम्झने गरेका छन् । यस्तै बढ्दो प्रविधिको लोकप्रियतासँगै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा समेत धेरैले आमाप्रति भावना र सम्झना साटफेर गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया