काठमाडौ, २ बैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक प्रचण्डले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए मोर्चा फेरि एकताबद्ध हुन सक्ने बताएका छन् ।
आन्दोलन तुहाएर गरेको गल्ती सुधारे मोर्चा एकताबद्ध रहन्छ । तर विपक्षी मोर्चाको तर्फबाट अघि सारिएको नौ बुँदे प्रस्तावबाट पछि हटेर आत्मसमर्पण गरेर संकट उत्पन्न हुन्छ, उनले भने, प्रचण्डको भूमिकामा मोर्चाको भविष्य निर्धारित हुनेछ र त्यसका लागि चैत्र २४ गते गरेको गल्ती सुधार्नु पर्ने हुन्छ ।’
प्रचण्डले सत्ता र मोर्चा रुपी दुई नाउमा खुट्टा राखेकोकाले त्यसको परिणाम बाहिर आईसकेको दावी गर्दै अध्यक्ष यादवले भने– अब उनले दुई नाउमा खुट्टा राख्नु हुँदैन । कि आन्दोलन कि वार्तामध्ये एक रोज्नु पर्छ । दुई धारको राजनीति छाड्नु पर्छ । पाँच जिल्लाको विवादमा पनि कहिले मधेसमा हुनुपर्छ , कहिले जनमत संग्रह गर्नु पर्छ त कहिले केन्द्र शासित प्रदेश हुनु पर्छ भनेर दोहोर चरित्र उहाँले प्रस्तुत गरिरहनु भएको छ ।’
यादवले बार्ताबाट आफूहरुको सवाल समाधान नहुने देखेपछि आन्दोलनमा गएको स्पष्ट पार्दै प्रचण्डले अरुलाई उपयोग गर्छन् भन्ने थाहाँ हुँदा हुँदै पनि परिस्थितिका कारण आफूहरुले सहकार्य गरेको स्पष्ट पारे ।
उनले तीस दलीय मोर्चा अहिले नै भंग गर्ने विषयमा आफूहरु नसोचेको र अहिलेसम्म बैठक पनि बहिष्कार नगरेको स्पष्ट पार्दै कुनै बैठकमा अनुपस्थित मात्र भएको दावी गरे ।
यादवले भने– हामीले बैठक बहिष्कार गरेको होईन, नगएको मात्रै हो । प्रचण्डले चैत २४ गतेको कदम र भावी रणनीतिको विषयमा स्पष्ट पारेपछि मात्रै बैठकमा जाँन्छौ ।’
प्रचण्डले मधेसी र जनजातीलाई प्रयोग गर्न नसक्ने ठोकुवा गर्दै नौ बुँदे आफूहरुको प्रस्ताव त्यागेर संविधान बनाउन खोजे मधेसी र जनजातीको छुट्टै मोर्चा बनाएर आन्दोलनमा जाने चेतावनी दिए ।
उनले मधेसी अहिले पनि कमजोर नरहेको दावी गर्दै विजय कुमार गच्छारको एजेण्डा सत्ता र पैसा मात्रै भएकोले उनले आन्दोलन विरोधी कुरा गरेको आरोप लगाए ।
उनले केही दलहरुले आफ्नो हितकोलागि मात्रै संविधान बनाए र अरुले मानेन भने समृद्धि र शान्तिमा बाधा उत्पन्न गर्ने दावी गर्दै अझै पनि आफूहरु ठोस बार्ता र सहमति हुनु पर्ने पक्षमा रहेको बताए ।
तराई , पहाड र हिमालमा अलग अलग प्रदेश हुनु पर्ने भन्दै संघीयता थाति राखेर संविधान जारी गर्ने कुरा आफुहरुकोलागि स्विकार्य नभएको स्पष्ट पारे ।
यादवले आगामि ६ गतेको लािग संविधानसभाको बैठक बोलाएको सन्दर्भमा बैशाख ५ गते बैठक बसेर ठोस निर्णय गर्ने बताए ।



तपाईको प्रतिक्रिया