निकै ठूलो प्रयासबाट गठन भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा यतिखेर ठूलो संकटमा परेको छ । मोर्चाको बैठक पटक पटक बोलाएपनि बस्न सकिरहेका छैन । बैठक बोलाउने जिम्मा पाएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाको बैठक पटक पटक बोलाए तर बैठक बसेका छैन । मधेशी मोर्चाको बैठक माघ १८ गते बसेको थियो त्यसपछि यता बसेको छैन जब कि मधेसी मोर्चा सम्मलित ३० दलीय गठबन्धनको बैठक पटक पटक बसेका छन् ।
अध्यक्ष महतोले सहारा टाइम्ससँग कुरा गर्दै भने, बैठक बोलाउने पालो मेरो हो तर पटक पटक बैठक बोलाउँदा पनि बैठक बस्न सकिरहेका छैन । आवश्यकता परे आफै बस्छन् ।’ तर तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बैठक बोलाउन आफूले पटक पटक भनेको तर बैठक नै नबसेको गुनासो गरे । उनले भने, बैठक बसाउने पालो राजेन्द्रजीको हो तर उहाँले बैठक किन बोलाई रहनु भएको छैन मलाई थाह छैन तर मोर्चाको बैठकको आवश्यकता छ ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, मैले आफैले एसएमएस गरेर फागुन २७ गते बैठकका लागि निमन्त्रणा गरेका थिए तर बीचमा कुन नेता व्यस्त भए बैठक स्थगित गर्नुपर्यो ।मधेशी मोर्चामा आठजना अध्यक्षहरु छन्, ती आठ जनामध्ये कोही कसैको केही काम पर्यो वा अनुपस्थिति हुनुपर्यो भने बैठक बस्दैनन् नेता सुमनले भने, यो अवस्थाले गर्दा मोर्चाको बैठक बस्न नसकेको हो । उनले मोर्चाको बैठक बस्न अति आवश्यक भएको बताए ।
यही मधेशी मोर्चा हो जसको आडमा यसका नेताहरु पटक पटक सरकारमा गएका थिए । मानौ मधेशी मोर्चाको गठन सरकारमा जानकै लागि भएको थियो । सत्ताका लागि हुने बैठकहरु एक पटक बोलाउँदैमा सबै भेला हुन्थे तर अहिले सत्ताको होइन आन्दोलनको कुरा हुने गरेका कारण मोर्चाका नेताहरु बैठकमा आउन चाहेका छैनन्, मोर्चाका एक नेताले भने, आजदेखि सत्ताको कुरा होस् न बोलाउन बित्तिकै बैठकमा आउँछन् तर अहिले बैठक बोलाउँदा एउटा कुनै अध्यक्षले बैठकमा आउन नचाहे बैठक नै बस्दैनन् ।
मोर्चाका नेताहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्वभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच चलिरहेको घोचपेचका कारण पनि बैठक नबसेको एक नेताले बताए । एक नेताले भने, ३० दलको बैठकमा मोर्चाका नेताहरुको बीचमा यस्तो घोचपेच चलिरहेका हुन्छन् भने मोर्चाको बैठक बस्यो भने अवस्था के हुन्छ, सायद यही अवस्थामा मोर्चाको बैठक बस्यो भने मोर्चा विघटन पनि हुन सक्छ ।’
३० दलीय गठबन्धनमा मोर्चाका नेताहरु बीच घोचपेच हुँदा अरु नेताहरु रमिते भएर बसेका हुन्छन् त्यो कारणले पनि मोर्चाको बैठक बस्न आवश्यक देखिएको छ । मोर्चाको बैठक नबस्नुको मुख्य कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार हुन् उनले नै पटक पटक बैठक स्थगित गराउँदै आएका हुन्, एक नेताले भने, मधेशी मोर्चाको निर्णय अनुसार एमाले अध्यक्ष केपी ओली समलित कुनै पनि बैठकमा सहभागि नहुने तर गच्छदारजी पटक पटक सहभागि भइरहेका हुनाले पनि गच्छदारलाई मोर्चाको बैठकमा आलोचना हुने भनि लागेको होला त्यही कारणले बैठक बसाउन नचाहेको हो ।मोर्चाका एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले बैठक बस्नुको कुनै औचित्य नरहेको बताए ।उनले मधेशी मोर्चाले गर्ने हरेक काम ३० दलीय गठबन्धनबाट भइरहेका छन् भने मोर्चाको छुट्टै बैठक किन बस्नु पर्यो भन्दै आवश्यक पर्यो भने जुनसुकै बेला पनि बस्न सकिने बताए । ३० दलीय गठबन्धनले अहिले वार्ता र छलफल गरिरहेका छन्, वार्ताको अन्तिम रुप लिए वा सहमतिको वातावरण तयार भयो भने मात्रै मोर्चाको बैठब बस्दा ठिक हुन्छ जस्तो लागेको उनले बताए ।
मोर्चाका एक घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफू मोर्चामा सहभागि भएपछि एकपटक मात्र बैठकमा बस्न पाएको त्यसपछि कुनै बैठकमा सहभागि नभएको बताए । उनले मोर्चाको त्यो इन्ट्री मात्र थियो त्यसपछि कुनै बैठकमा सहभागि भएको छैन । बैठक बस्छ कि बस्दैन, मधेशी मोर्चा छ कि छैन त्यो कुरा पनि थाह छैन । कहिले काही टीभीबाट मधेशी मोर्चाका नेता वार्तामा गएको समाचार सुन्ने गरेको तर अरु के भयो, कहिले के हुन्छ केही थाह नहुने गरेको बताए ।
सत्ताधारी दलहरुसँग वार्ता हुँदा मधेशी मोर्चासहित चार दल हुन्छन्, अध्यक्ष झाले भने, तर मधेशी मोर्चा बैठकमाा सहभागि हुने कि नहुने, बैठकमा सहभागि भएपछि कुन कुन विषयमा छलफल गर्ने आदि लगायतका विषयमा मोर्चामा पहिला छलफल हुने हो तर आजसम्म कुनै छलफल भएको छैन अथवा वार्ताबाट फर्केपछि फोनबाट पनि जानकारी हुँदैन कि बार्तामा यो यो विषयमा छलफल भयो यो यो विषयमा कुरा मिल्यो अनि कसरी बुझ्ने मधेशी मोर्चा छ कि छैन ।’
उनले तीनपटक राजेन्द्र महतोको घरमा गएर मोर्चाको बैठकलागि आग्रह गरेको तर महतोले नै मोर्चाको बैठकप्रति अनभिज्ञता देखाएको बताए । अध्यक्ष महतोले नै मैले पटक पटक बैठक बोलाएको तर कोही आउँदैन, मधेशी मोर्चा वार्तामा सहभागि हुने गरेको मैले पनि सुनेको तर के भयो, वार्तामा कसरी गयो मलाई पनि थाह हुँदैन आफूलाई भनेको अध्यक्ष झाले बताए ।
३० दलीय गठबन्धनको मुख्य घटक मधेशी मोर्चा नै हो । र, कुनै पनि बैठकमा मधेशी नेताको उपस्थिति मधेशी मोर्चाको तर्फबाट हुने गरेको छ चाहे चार दलको बैठक होस् या कुनै बाहिरका व्यक्तिसँगको भेटघाट होस् मोर्चाकै मान्यता दिएर बैठकमा बोलाएको हुन्छ तर यता मोर्चाको आपसमा कुनै छलफल छैन । ३० दलीय गठबन्धनले आन्दोलन गरिरहेका छन्, तर मधेशी मोर्चाले आफ्नो कुनै निर्णय दिन सकिरहेका छैन । फागुन १६ गते राजधानीमा विशाल जनसभा भयो त्यसका लागि गठबन्धनको पटक पटक बैठक बस्यो तर मधेशी मोर्चाको बैठक एक पटक पनि बस्न सकेन ।
आन्दोलनका कार्यक्रम घोषणा गर्नका लागि मधेशी नेताहरु गठबन्धनको बैठकमा विवाद गर्छन् एक अर्कालाई घोचपेच गर्छन् तर मधेशी मोर्चाको बैठक बसेर त्यसलाई टुग्यांउनुपर्ने कार्य कसैबाट पनि भइरहेका हुँदैन । र बैठक बस्नका लागि कुनै पहल गरेका हुँदैन ।
मोर्चा गठन भएपछि मोर्चाका आचारसहिंता पनि तयार भएको थियो । आचारसहिंता अनुसार मोर्चामा आवद्ध नेताहरुले एक अर्काको टिक्का टिप्पणी नगर्ने भनिएको छ तर खुल्ला रुपमै एक नेताले अर्को नेतालाई घोचपेच गरिरहेका हुन्छन् ।



तपाईको प्रतिक्रिया