काठमाडौ चैत २८ गते । सिहदरवारमा बस्ने एमाओवादी नेतृत्व ३० दलीय गठबन्धनको बैठकलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बहिष्कार गर्ने भएको छ ।
एमाओवादीका अध्यक्ष एवं गठबन्धनका संयोजक प्रचण्डले एकतर्फि रुपमा दुई दिनको आमहड्ताल फिर्ता लिएपछि असन्तुष्ट रहेका मधेशवादी दलका नेताहरु आज गठबन्धनको बैठकमा नजाने आन्तरिक तयारी गरेको बताइन्छ ।
स्रोतका अनुसार मोर्चाका सबै दललाई यस प्रकारको सर्कुलर नभएपनि मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरु अनुपस्थित रहने छ । त्यस्तै मधेशी जनअधिकार फोरम गणतान्त्रिक तथा नेपाल सद्भावना पार्टीका नेताहरु पनि बैठकमा नजाने बुझिएको छ ।
चैत २४ गते एक दिनको आमहड्ताल सफल भएपछि त्यसको समिक्षाका लागि सोही दिन साँझ सिहदरवारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा गठबन्धनकाका संयोजक प्रचण्डले अरुको दलको असहमतिका बाबजुद पनि दुईको आन्दोलन फिर्ता लिएका थिए ।
त्यसपछि फोरम नेपाल र सद्भावना पार्टी खुलेर नै त्यसको विरोध गरेका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी विरोध गरेका थिए भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए ।
त्यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि पत्रकारसँगको कुराकानीमा प्रचण्डको सो निर्णयलाई विरोध गरेका छन् । प्रचण्डको सो निर्णयलाई फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले मात्र समर्थन जनाएका छन् ।
त्यसैगरि एमाओवादीले अहिले कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरि सत्ताधारी दलसँग वार्ता शुरु गरेका छन् । जबकि अध्यक्ष प्रचण्डले अब हुने जुनसुकै वार्ता गर्दा त्यसमा तीस दलीय गठबन्धनको सहभागि हुने निर्णय गरेका थिए । उनले सार्वजनिक कार्यक्रममा पनि सत्ताधारी दलले मात्र सत्ताधारी दलसँग वार्ता गर्ने बताएको थियो । तर, अहिले गठबन्धनका अन्य दल तथा मोर्चालाई कुनै जानकारी नै नदिइकन एमाओवादीले सत्ताधारी दलहरुसँग वार्ता प्रकृया थालेको छ ।



तपाईको प्रतिक्रिया