Khadya Bibhag

भोजपुरी समाजको उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित

नेपाल भोजपुरी समाज, काठमाडौंले उद्घाटनको अवसर पारेर भोजपुरी भाषा, साहित्य र संस्कृतिको विकासमा उल्लेखनीय योगदान गरेका सत्रजना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
समाजद्धारा उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजित उद्घाटन तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले समाजको तर्फबाट उहाँहरुलाई ‘भोजपुरी प्रतिभा सम्मान, २०७१ ’ समर्पण गर्नुभयो  । सो अवसरमा उपराष्ट्रपति झाले समाजको उद्घाटन समेत गर्नुभएको थियो ।
सो अवसरमा नेपालीय भोजपुरी साहित्यकार पंडित दीपनारायण मिश्र , गोपाल अश्क , मुकुन्द आचार्य ,दिनेश गुप्ता ,रामप्रसाद साह ,उमाशङ्कर द्धिवेदी ,गोपाल ठाकुर ,सुरेन्द्रप्रसाद गिरी , उपेन्द्र प्रसाद सहनी ,वीणा सिन्हा , गायक सुनिल पंडित , नेक महम्मद हुसैन ,बृजकिशोर सहनी ,रामबाबु पटेल र रिंकु कुमारी जैसवाललाई ‘भोजपुरी प्रतिभा सम्मान, २०७१ ’ समर्पण गरिएको थियो ।
त्यसैगरी , तराईमा व्याप्त दाइजो प्रथाको विरोध गर्दै विना दाइजो प्रणय सूत्रमा बाँधिनुभएका रामतपस्याकुमार साह र प्रिति साहलाई सम्मान  गरिएको थियो ।
समाजको उद्घाटन गर्दै उहाँले सबै भाषा ,साहित्य र संस्कृतिको जर्गेनाले मात्र मुलुकको राष्ट्रिय एकता अखण्डता अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल जस्तो सानो मुलुकमा धेरै भाषा र संस्कृति हुनु मुलुककै लागि ठूलो बरदान भएको चर्चा गर्दै उहाँले यसको संरक्षण र प्रबद्र्धन गर्नु राज्यको प्रमुख दायित्वमध्ये एक रहेको धारणा व्यक्त गर्नुभयो ।
मधेसी नागरिक राष्ट्र र राष्ट्रियताप्रति संधै प्रतिवद्ध रहेको चर्चा गर्दै उहाँले सबैको साझा प्रयास र प्रतिबद्धताले मात्र मुलुकले हरेक क्षेत्रमा फड्को मार्न सक्ने बताउनुभयो ।
मधेसमा धेरै भाषालाई मान्यता दिएर राज्यले मधेसको भाषिक र सांस्कृतिक एकतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै उहाँले यहाँको भाषा र संस्कृतिको विकास राज्यद्धारा ध्यान नदिइएको आरोप लगाउनुभयो ।
नेकपा (एमाले ) का पोलिटव्यूरो सदस्य डा.वंशीधर मिश्रले कुनै भाषाको विकास लागि राज्यको संरक्षण आवश्यक रहेको बताउनुभयो । जीवन जिविकासंग जोडिएर मात्र कुनै पनि भाषाको संरक्षण हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य प्रभु साहले राज्यकै विभेदका कारणा मधेसका भाषा संस्कृति लोपोन्मुख अवस्थामा पुग्न लागेको आरोप लगाउनुभयो ।
उहाँले कुनै पनि भाषाको विकासका लागि त्यसलाई राज्यको गतिविधिसंग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बारा क्षेत्र नं. १ का सभासद् रामअयोध्याप्रसाद यादवले भोजपुरी भाषाको विकास नहुनुमा भोजपुरी भाषीहरु त्यतिकै दोषी रहेको बताउनुभयो । उहाँले आफ्नो भाषाा र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि त्यसलाई घर व्यवहार र बोलीचालीमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जीवेन्द्रदेव गिरीले मुलुकको सबै भाषा साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान प्रतिवद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया