जिवछ यादव
लहान, चैत २४ गते । लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ । लहान नगरपालिकामा परिसकेको फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो समेत गर्न थालेका छन ।
रेश्मा, कुश्मा र दौनाले सलहेशसँगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ वर्ष बैशाख १ गते नै प्रत्येक वर्ष फूल फुल्ने गरेकोले भारत नेपालका लाखौ दर्शनालु भक्तजनको घुईचो लाग्ने गरेको छ । १२ विगहाको फुलवारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फुलवारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होईन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकोले भारतका पटना विहार वंगाल र दिल्लीसम्मको दर्शकहरु आउने गरेका छन् । मेलामा आउने लाखौ भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेका छन् ।
लहान ११ मा ७५ प्रतिशत र शिश्वनी २२ मा २५ प्रतिशत फूलवारीको भूभाग परेकोले दुवै वाडाका अगुवाहरु एक भएर सलहेश फूलवारीको ऐतिहासिक गथा र वीरताको धार्मिक मूल्य मान्यता रहेकोले पर्यटन क्षेत्रको रुपमा विकास गर्न जुटनु पर्ने स्थानीयहरुको बुझाई छ ।
राजा सलहेश, भाइ मोतिराम र बुधेश्वरले लहानदेखि पाँच किलोटिर उत्तरमा रहेको गोविन्पुर गाविसको मानिक दहमा स्नाान गरेर सलहेश फुलवारीमा फूल टिपेर फूलवारीको उत्तर पश्चिम पट्टि रहेको अखडाहामा कुस्ती खेलेर सिरहा सदरमुकाममा रहेको मैसोथामा पूजा गर्ने सलहेशको सम्झनामा तीनै ठाउँमा मेला लागे पनि सलहेश फुलवारीको मेला तुल्नात्मक रुपमा विशाल रहेको मन्दिरका पूजारी वीरदेव धामीको भनाई रहेको छ ।
फुलवारी संरक्षण समितिको सदस्यको रुपमा रहेको मो. मन्सुरी भन्नुहुन्छ–सलहेश फुुलवारीमा के हिन्दु के मुस्लिम सवैको कदर उस्तै छ । आफू मुस्लिम जातीको भए पनि सलहेशको महिमा प्रति अगाध श्रद्धा रहेको छ । हाम्रो बालवच्चा सवैलाई कल्याण गर्ने सलहेशको महिमा वेजोड रहेको भन्दै सलहेश फुलवारी सवैको साझा फुलवारी नै रहेको छ । उहाँले आफ्नो उमेर ६० वर्ष हुन लागेको तर वैशाख १ गते लाग्ने यत्रो ठूलो मेला कहि पनि नदेखेको बताउनु भयो ।
मन्दिरका पूजारी धामीका अनुसार यस मन्दिरको पूजा दुनुवार जातीले पन्ध्रौ पुस्तादेखि गर्दै आईरहेका छन् पासवान जातीले आफनो कुल देवता भएको दावी गरेर विवाद खाडा गरेको वेला दुनुवार जातीले गरेको पूजा सलहेसले स्वीकार गरेकोले दुनुवार जाती नै पूजा गर्दै आईरहेको छ । आफनो पुर्खा जोखन धामीले राखेको मुशहर जातीको नोकरले सलहेश फुलवारीमा भैसी चराउन आँउदा एउटा भैसी हराएको थियो । रातीतिर नोकरले फुलवारीमा भैसी खेज्न आउँदा सलहेशले दर्शन दिदै आफनो मालिकलाई बोलाएर ल्याए अनि भैसी भेटाउँछौ भन्ने शर्तमा जोखन धामीलाई सलहेशले आफनो पुजारीको शर्तमा भैसी फिर्ता गरेका थिए । सलहेसले आफ्नो पुजारी स्वीकारे देखि नै हालसम्म दुनुवार जातीका धामीहरुले नै त्यहाँ पूजा गर्दै आईरहेका छन् ।
सलहेश फूलवारीमा हारम पाकैर, लावा सोहरा र विभिन्न जडीवुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको धामीहरु बताउँनु हुन्छ । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलवारीको पानी प्रयोग गर्नुको साथै हैजा माहामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेका छन् । निःसन्तान आईमाईहरुले सलहेश फूलवारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्रप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् । बैशाख १ गते लाग्ने सलहेश फुलवारी सम्पन्न भएपछि पतारी पोखरी , पकडीया गढ भक्तजनहरु मेला हेर्न जाने गर्छन् ।
सलहेश फूलवारीलाई वार्षीकीको रुपमा मात्रै सम्झना गर्नाले हुँदैन । पर्यटन क्षेत्रको रुपमा यसको विकास गर्नु पर्ने पडरिया गाविसका पूर्व अध्यक्ष मागैन कामैतको भनाई रहेको छ । तीन वर्ष अगाडि सलहेश महोत्सवको आयोजना गरेको भन्दै राष्ट्रपति रामवरण यादवले सलहेश फुलवारीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने उहाँको भनाईलाई सकार गर्न सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।
यता उद्योग वाषिज्य संघ लहानले सलहेश फुलवारी लगायतका आधा दर्जन जति पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र संवर्धनको लागि तेश्रो सगरमाथा महोत्सव आयोजना गरेको भन्दै मानिकदह, पकडिया गढ, सलहेशफुलवारी, पतारीको पताल पोखरी, वालासुन्दरी भगवती भगवानपुर, माई स्थान पोर्ताहा र देवी स्थान ढोडनालाई जोडेर सडक निर्माण गरेपछि सिरहाको कायापलटमा निकै सहयोग पुग्ने उहाँको भनाई रहेको छ ।
गोरखापत्रबाट



तपाईको प्रतिक्रिया