काठमाडौँ, १८ चैत । भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि बिहान राजधानी आउँदै हुनुहुन्छ ।
दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हाल्नुभएका उहाँ नेपालसँगको आत्मीयता प्रवद्र्धन तथा दुई मुलुकबीचको गाढा सम्बन्धका विविध आयामबारे वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्न भ्रमणमा आउन लाग्नुभएको हो ।
राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षी शङ्करदास वैरागीसँग प्रधिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे प्रतिनिधिमण्डलस्तरीय वार्तामा छलफल हुने बताइएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकको यात्राका क्रममा भारतीय विदेश सचिवले पाकिस्तान र भुटानको भ्रमण गरिसक्नुभएको छ । विदेश सचिवमा नियुक्त भएपछि सुब्रमन्यम्को यो पहिलो नेपाल भ्रमण हो ।



तपाईको प्रतिक्रिया