पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन

गौशाला, १८ चैत । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन भएको छ ।

महोत्तरी जिल्लाको खुट्टापिपराढी गाविस–१ घर भएका पूर्व मन्त्री यादवको बिपी क्यान्सर अस्पताल चितवनमा मङ्गलबार साँझ उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय महोत्तरीले जनाएको छ ।

गत पुस २० गतेदेखि क्यान्सरबाट पीडित हुनुभएका नेता यादवको ६३ वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् ।

विसं २००८ मा पिता स्व किसुन यादव र माता चन्द्रकला देवीको कोखबाट जन्मिनुभएका नेता यादव नेपाली काँगे्रसका निक्कै कर्मठ एवम् सङ्घर्षशील नेता हुनुहुन्थ्यो । नेता यादव प्रजातन्त्र प्राप्तिका लागि एवम् जनआन्दोलन र सत्याग्रह आन्दोलनका क्रममा २०४२, २०४६ र २०६२÷६३ मा गरी तीनपटक जेलसमेत पर्नुभएको थिए ।

त्यस्तै २०४८, २०५१ र २०५३ सालमा नेता यादव महोत्तरी जिल्लाबाट सांसद बन्नुभएको थियो भने २०५३ सालमै उहाँ गृहराज्य मन्त्री बन्नुभएको थियो । नेता यादवको दुई छोरा विमल यादव र जयप्रकाश यादव तथा एक छोरी रेणु यादव गरी तीन सन्तान रहेका छन् ।

काँग्रेस नेता एवम् पूर्व गृहराज्य मन्त्री यादवको असमायिक निधनले नेपाली काँग्रेस महोत्तरीलाई अपूर्णिय क्षति पुगेको तथा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता निकै मर्माहित भएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला पार्टी सभापति महेन्द्रकुमार रायद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा नेता यादवको निधनमा शोकमग्न हुँदै नेपाली काँग्रेस महोत्तरीले आजदेखि तिनदिनसम्म पार्टीका झन्डा आधा झुकाउने तथा तीनदिनसम्म पार्टी कार्यालय बन्द राखी सम्पूर्ण कार्यक्रम बन्द राख्ने निर्णयसमेत गरेको उल्लेख छ ।

अहिले नेता यादवको पार्थिव शरीर जिल्ला पार्टी कार्यालय महोत्तरीमा राखिएको छ भने विभिन्न नेता कार्यकर्ता उहाँको पार्थिव शरीरमाथि माल्यापर्णन र फूल चढाउने कार्यक्रम गरिरहेका छन् ।

साथै नेता यादवको पार्थिव शरीरलाई आजै जिल्ला सदरमुकाम जलेश्वरमा परिक्रमा गराई साँझ उहाँको जन्मस्थान खुट्टापिपराढी–१ मा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया