![]() |
| धनुषाको सबैलामा एमालेजनहरुद्वारा निर्मम हत्या गरिएका रामसागर गरेरी र रामप्रकाश यादवका शोकाकुल परिवारका साथमा डा.बाबुराम भट्टराई |
काठमाडौ चैत ९ गते । पूर्वी धनुषाको सबैलामा गएराति दुई पक्षबीच विद्यालय व्यवस्थापनको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने दसभन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थानीय मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको विवादमा स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही घटनामा स्थानीय रामसागर साह गम्भीर घाइते भएका छन् भने अन्य पशुराम साह, श्याम यादव, वीरबहादुर, हरिनारायण यादवसहित दसभन्दा बढी व्यक्ति घाइते भएको छन् ।
घटना विवरणअनुसार आइतबार साँझ ७ः३० बजेतिर विद्यालय व्यवस्थापन समितिको निर्वाचन छलफल भइरहेको अवस्थामा नेकपा (एमाले) समर्थित कार्यकर्ताको करिब ३० जनाको समूहले एक्कासी आक्रमण गर्दा दोहोरो भीडन्त भएको थियो ।
भिडन्तमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता ४० वर्षीय रामसेवक राउतको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो भने अर्का सोही पार्टी समर्थित ४० वर्षीय रामप्रकाश यादवलाई राति १ः३० बजेतिर अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए।
प्रहरीले अनुसन्धानको क्रममा तीन जनालाई पक्राउ गरे पनि नाम सार्वजनिक भन्ने गरेको छैन। मृतक यादवका परिवारजनका अनुसार राति १२ बजेतिर स्थानीय जगदीश यादव र महेन्द्र यादवले काम छ भनेर घरबाट बोलाएर बाहिर लगेका थिए ।
सो घटना विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर भए पनि उक्त गाविसमा जमिनदार रुद्धेश्वर प्रधानको जग्गाको विषयमा स्थानीय दुई समूहमा विगत दुई वर्षदेखि विभाजित रहेका छन् ।
उक्त सार्वजनिक जग्गा जमिन्दार प्रधानले अवैधानिकरुपमा आफ्नो रहेको दाबी गर्दै आएका छन् । तर सो जग्गा सार्वजनिक प्रयोजनका लागि स्थानीय व्यक्तिले जग्गा कब्जा गरेका थिए । प्रधानको मृत्युपछि उनका परिवारजनले सो जग्गा बेच्न खोजेपछि विगतमा पनि पटकपटक विवाद हुँदै आएको थियो ।
साहका अनुसार घाइते हुनेहरुमा कारीराम यादव (मातृकाको भाइ), प्रदीप यादव, रामवली साह, श्यामकिशोर साह, परशुराम साह, लखिचन्द साह, रामसागर साह, वीरेन्द्रकुमार साह, रामचन्द्र साह, दिनेश साह र रामदेव ठाकुर छन्। उनीहरुमध्ये रामसागर, कारीराम र परशुरामलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीलाई स्थानीय अस्तापलमै उपचार भइरहेको साहले बताए।
आइतबार साँझ झडपको क्रममा घाइते भएकाहरु उपचार गराउन सबैतिर निस्केपछि तत्काल माहोल शान्त देखिएपनि राति करिब एक बजेको समयमा फेरि रामप्रकाश यादवलाई गोली हानी हत्या गरिएको स्थानीयले जनाए।
एमालेका नेता योगनारायण यादवले प्रधानका परिवारलाई सो जग्गाको विषयमा सहयोग गर्दै आएको बताइएको छ ।



तपाईको प्रतिक्रिया