पत्रकार आचारसहिंता परिमार्जन हुने

काठमाडौँ, ९ चैत । प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ पत्रकार आचारसंहिता पुनरवलोकन परामर्श समीक्षा बैठक सम्पन्न भएको छ ।

काउन्सिलले वर्तमान समयमा विभिन्न सञ्चारमाध्यमका विकास र विस्तार हुँदै गएको अवस्था ध्यानमा राखी आचारसंहिता पुनरवलोकन सम्बन्धमा राखेको बैठकमा आचारसंहितासँग सम्बन्धित विज्ञ काशीराज दाहाल, विनोद ढुङ्गेल र क्यानडाली टोबी मेन्डलले आचारसंहितासम्बन्धमा कार्यपत्र प्रस्तुत गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको काउन्सिल अभिभावक भएकाले उनीहरुको प्रोत्साहन र केही विषयमा निरुत्साहन गर्न आचारसंहितामा परिमार्जन गर्न जरुरी भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकारिता तथा आमसञ्चारकर्मी, नागरिक समाज, कानुन व्यवसायी, उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, सुरक्षाकर्मी, महिला, अनुसन्धानकर्तासहित ६० जनाको सहभागिता थियो । काउन्सिलले यस्तै बैठक विराटनगरमा गरिसकेको छ भने यही चैतको अन्तिम साता पोखरामा गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया