Khadya Bibhag

मेरो सफलताका पछाडि मेरा श्रीमान्को ठूलो सहयोग छ

-डिम्पल झा
सभासद्, एवं नेपाल सदभावना पार्टीकी नेतृ
 

आयुर्वेद चिकित्सा पद्धति अध्ययन गर्नुभएकी डिम्पलकुमारी झा संघीय सद्भावना पार्टीका तर्फबाट संविधानसभा सदस्य हुनुहुन्छ । भारतको विहारमा सन् १९७९, जुलाई १२ मा जन्मनुभएकी झाले नरदेवी अस्पतालमा तीन वर्ष आयुर्वेद चिकित्सा सेवासमेत गर्नुभयो । संविधानसभा सदस्य झासँग गरिएको कुराकानीको सारः

तपार्इं विकासका कुनकुन मुद्दामा सक्रिय रहनुभएको छ ?
रौतहट, क्षेत्र नम्बर एकका लागि विनियोजित एक करोड रुपियाँमा विभिन्न चारवटा योजना छनोट भएको छ । त्यस रकममा अधिकतम १० वटा विकास योजना छनोट गर्न सकिन्थ्यो तर केही अन्य राजनीतिक दलका पूर्वाग्रही भावनाका कारण त्यो सम्भव हुन सकेन् । तापनि चारवटा योजना छनोट भएको छ । ती योजना यस वर्ष पूरा भएमा ती स्थानमा विकासले गति लिनेछ ।

कुनकुन स्थानका लागि योजना छनौट गर्नुभयो ?
मुडवलवादेखि राजदेवीसम्मको बाटो र हजमिनियादेखि बसतपुर हुँदै बागमती नदी किनारसम्मको बाटो कालोपत्रे गर्ने, सरुअठा गाउँ विकास समितिको बैठा टोलमा एउटा सामुदायिक भवन निर्माण गर्ने योजना छनोट भएको छ । बैठा समुदायका मानिसलाई विवाहलगायतका सामूहिक काममा भेला हुनका लागि भवन चाहिन्छ भन्ने लामो समयदेखि माग पनि थियो । चौथो भलोहिया गाउँ विकास समितिस्थित बाटो पनि कालोपत्रेका लागि छनोट भएको छ तर त्यसमा मेरो सहमति थिएन । मैले अति जरुरी रहेको भलोहियादेखि जेठरहियाको चिकना गाउँ जाने बाटोलाई प्रस्तावित गरेको थिएँ । एमालेका नेताहरुले त्यसको विरोध गर्नुभयो ।

तपाईंले प्रस्ताव गर्नुभएको बाटो नै किन कालोपत्रे हुनुप¥यो ?
होइन, मैले भनेकै हुनुपर्छ भन्ने होइन तर के हो भने नेताको घरअगाडि कालोपत्रे हुनुभन्दा पनि जनताका घरदैलो अगाडिको बाटो बन्नुपर्छ । स्थानीय बासिन्दाले भलोहिया र चिकना गाउँबीच बाटो नहुँदा सास्ती खेप्नुपरेको छ । त्यसलाई कालोपत्रे गरियो भने दुबै गाउँका बासिन्दालाई फाइदा पुग्छ तर एमालेका नेता माधवकुमार नेपाल, डा. वंशीधर मिश्र र स्थानीय नेता रेवन्त झाले विरोध गर्नुभयो । किनभने मिश्र र झाले आफ्नो घरअगाडिको बाटो कालोपत्रे गर्ने गरी योजना छनोट गर्नुभयो । नेता नेपालले पनि त्यसैमा सहमति जनाउनुभयो । त्यसमा मेरो असहमति थियो । जनमतको कदर गर्नुप¥यो नि । निर्वाचनमा हामीले हाम्रो आफ्नो घरबाटो बनाउने भनेका थियौं कि जनताको ? मत माग्दा जनताको अनि बनाउने बेला आफ्नो बनाउने ?

तपाईंले आफ्नो बजेटबाट अरू के के गर्नुभयो ?
मैले क्षेत्र नम्बर एककै विभिन्न विद्यालयमा कम्प्युटर दिएको छु । आधुनिक युगमा सबै कुरा कम्प्युटरकृत हुन्छ, कम्प्युटर जान्नै पर्छ । त्यसैले बसतपुर, लक्ष्मीपुर बेलविछवा, बडहर्वा र मत्सरी गाउँ विकास समितिका विद्यालयमा कम्प्युटर उपलब्ध गराएको छु । गौरस्थित गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि केही आर्थिक सहयोग गरेको छु ।

त्यस क्षेत्रमा स्थानीय जनताको बढी माग के छन् ?
संविधानसभा निर्वाचनताका म क्षेत्रभरि घुमेको थिएँ । अहिले पनि जिल्ला गएको बेला क्षेत्रमा घुम्ने गरेको छु । स्थानीय बासिन्दाले बाटोघाटो, दलित एवं पिछडिएका वर्गका बस्तीमा शौचालय, खानेपानीका लागि चापाकलको माग गर्ने गरेका छन् । सदरमुकामसँगै जोडिएको क्षेत्र भएर पनि विकास त्यति हुन सकेको छैन ।

किन विकास हुन सकेको छैन त ?
यस क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुई–दुई पटक प्रतिनिधित्व गरिसके । अहिले पनि माधवकुमार नेपालले प्रतिनिधित्व गर्दै हुनुहुन्छ । नेपाल प्रधानमन्त्री भएको बेलामा पनि रौतहटले केही पाउन सकेन । नेपालले प्रतिनिधित्व गर्नुभएको १५ वर्षमा यस एक नम्बर क्षेत्रको नौ किलोमिटर बाटोसमेत कालोपत्रे हुन सकेन । सदरमुकाम गौरदेखि भलोहिया गाउँसम्मको एकमात्र बाटो कालोपत्रे हुनसक्नु यो क्षेत्रको दुर्भाग्य हो । जुन रुपमा यो क्षेत्रले विकास हुनुपथ्र्याे, त्यो रुपमा हुन सकेन । नेताहरु विकासप्रति इमानदार देखिएनन् ।

शिक्षा र स्वास्थ्यको स्थिति कस्तो देख्नुभएको छ ?
शिक्षा र स्वास्थ्यको अवस्था पनि त्यति राम्रो छैन । विद्यालय छन् तर अध्ययन अध्यापन स्तरीय हुनसकेको छैन । अस्पतालहरु छन् तर सुलभ उपचारको व्यवस्था त्यहाँ छैन । सरसफाइ र उपकरणको अभाव छ । डाक्टर अस्पतालमा बस्दैनन्, असल व्यवस्थापनको कमी छ । सामान्य उपचारका लागि वीरगञ्ज, काठमाडौं वा सीमावर्ती भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ ।

मधेशमा जहिले पनि नागरिकताको कुरा उठ्छ, अब त नागरिकता समस्या छैन होला ?
नागरिकता समस्या छ । केही हदसम्म सम्बोधन भयो तर छँदै छैन भन्ने होइन । अहिले पनि तराई मधेशका ३० प्रतिशत मानिस नागरिकताविहीन छन् । रौतहटमै कतिपय मानिसले नागरिकता पाएका छैनन् । मरणासन्न अवस्थामा पुगिसेकेको बेलामा पनि नागरिकता पाइएको छैन । निर्वाचनको प्रचारप्रसारमा जाँदा मैसँग कतिपय वृद्धवृद्धाले नागरिकता मागेका थिए ।

तराई मधेशमा शिक्षा, स्वास्थ्य र स्थानीय निकायमा अनियमितता पनि बढी छ भनिन्छ नि ?
अनियमितता तराई मधेशमा मात्रै होइन, पहाडमा पनि छ । राजधानी काठमाडाँंमै पनि छ तर के हो भने मधेशका जनता त्यति जागरुक छैनन् । अन्यतिर काम बढी हुन्छ भने मधेशमा काम कम, बाँडीचुँडी बढी हुन्छ । आपसमै बाँडेर बजेट सिध्याउँछन् । जनता जागरुक भएमा कसैले केही गर्नसक्दैन ।

मधेशी महिलाको अवस्था कस्तो छ ?
समग्रमा महिलाको अवस्था त्यति राम्रो छैन । अझ मधेशी महिलाको स्थिति त झन् नराम्रो छ । यद्यपि पहिलेको स्थितिभन्दा केही सुधार अवश्य भएको छ । सार्वजनिक स्थान, सभा, समारोह वा कार्यक्रममा महिला जानुहुँदैन भन्ने आमधारणा छ । त्यसको कारण महिला आफैं वा परिवार पनि हो । कहीं जानुप¥यो भने परिवारको अनुमति चाहिन्छ । आफैं खुलेर अघि बढ्ने स्थिति त्यति छैन । शिक्षा र चेतनाको व्यापक अभाव छ । त्यसका लागि घर परिवारबाट प्रारम्भ गर्नुपर्छ । पुरुषले महिलालाई प्रोत्साहित गर्नुप¥यो, अगाडि ल्याउनुप¥यो ।

तपाईंको जीवनमा त्यस्तो केही अनुभव छ ?
एउटा भनाइ छ– प्रत्येक पुरुषको सफलताका पछाडि एक महिलाको हात हुन्छ । त्यस्तै प्रत्येक सफल महिलाका पछाडि पनि कुनै पुरुषको हात हुन्छ । अर्थात् महिला र पुरुष घरका दुई खम्बा हुन् । दुवै खम्बा बलिया भए भने घर बलियो हुन्छ । मेरो सफलताका पछाडि मेरा श्रीमान्को ठूलो सहयोग छ । आईए पढ्दै गर्दा २०५२ सालमा मेरो विवाह अनिलकुमार झासँग भयो । त्यसपछि पनि मलाई श्रीमान्ले पढाउनुभयो । फार्मेसी गरें । त्यसपछि पुनः आयुर्वेद चिकित्सा पढेर आयुर्वेद चिकित्सक बने ।

चिकित्सा क्षेत्रबाट राजनीति क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरा श्रीमान् विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । घरपरिवारमा राजनीतिक वातावरण त छँदै थियो । २०५८ सालमा सद्भावना महिला मञ्चको केन्द्रीय सहमहासचिव भएँ । सद्भावना आन्दोलनमा श्रीमान्सँगै लागिरहेकी थिएँ । त्यसैबीचमा म भारतको ग्वालियरस्थित जिवाजी विश्वविद्यालयमा आयुर्वेद चिकित्सा अध्ययनका लागि गएँ । अध्ययन गरेर आएपछि नरदेवी अस्पतालमा तीन वर्ष काम गरें । यसबीचमा भएको २०६२÷२०६३ सालको प्रजातान्त्रिक आन्दोलन र मधेश आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएँ । श्रीमान् पार्टी अध्यक्ष हुनुभयो र उहाँकै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भइयो । पार्टीलाई प्राप्त एक सिटमा मलाई केन्द्रीय कार्यसमितिले सिफारिस ग¥यो र अहिले सक्रिय राजनीतिमार्फत देश र मधेशको सेवामा लागेको छु ।

माघ ८ गते त गयो, अब तपाईंहरु कहिले संविधान दिनुहुन्छ ?
हामीले माघ ८ गते नयाँ संविधान दिन सकेनौं, त्यसका लागि म क्षमाप्रार्थी छु । हामी चाहन्छौं सहमतिमा संविधान बनोस् । सहमतिमा बनेको संविधान दीर्घकालीन र सर्वस्वीकार्य हुन्छ । संविधानसभामा रहेका ३१ दलमा सम्पूर्ण नेपालको भावना प्रतिनिधित्व छ । अघिल्लो संविधानसभाको कामलाई स्वामित्व ग्रहण गरेर अघि बढौं । सबैको सहमतिमा चाँडै संविधान दिनुपर्छ हामीले । राज्य पुनःसंरचनामै मुख्य विवाद छ, त्यसमा दलहरु सहमतिको प्रयासमा छन् ।

मधेशी दलले लिएको अडानका कारण संविधान निर्माण अवरुद्ध भएको भनिन्छ नि?
हामीले अवरोध उत्पन्न गरेको होइन । कांग्रेस र एमालेसमेतको सिफारिसमा बनेको राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा प्रदेश निर्धारण गर्न हामीले भनेकै छौं । एक मधेश प्रदेश नमान्ने हो भने आयोगका विज्ञहरुले दिएको सुझाव ती दुई दलले किन नमान्ने ? मुटु निकाल्ने अनि हातखुट्टा मात्रै राखेर बनाइने प्रदेशको कुनै अर्थ छैन ।

आन्दोलनले संविधान बन्छ ?
नेपालको इतिहास साक्षी छ । आन्दोलनले जुनसुकै परिवर्तन गर्नसक्छ । दुईतिहाइ बहुमत हुँदाहुँदै पहिलो जननिर्वाचित सरकार विघटन गरिएको इतिहास छ । अहंकार त्यागौं । आन्दोलनले गणतन्त्र ल्यायो, राजतन्त्र फाल्यो । आन्दोलन हाम्रो बाध्यता हो । सहमति नै एकमात्र विकल्प हो ।

जनता आन्दोलनका पक्षमा छन् र ?
जनता जहिले पनि परिवर्तन चाहन्छन् । मधेशका जनताले मधेशी दललाई मत दिएनन् तर हक, अधिकार र परिवर्तनका लागि रगत दिन तयार छन् । विभेद अन्त्यका लागि मधेशी जनता निर्णायक आन्दोलनको पर्खाइमा छन् ।
स्रोतःगोरखापत्र

तपाईको प्रतिक्रिया