सिरहा जेठ १८–जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) ले प्रदेश २ मा गरेको आन्दोलनप्रति सोही पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले आपत्ति जनाउनु भएको छ । जसपा (उपेन्द्र यादव पक्ष) प्रदेश २ को कार्यसमितिले प्रदेशका स्थानीय तहमा आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।
त्यसप्रति जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेता एवं राज्यमन्त्री मण्डलले आपत्ति जनाउँदै भन्नुभएको छ, कोरोना कहरले जनता त्राहिमाम छन् । प्रत्येक दिन मृत्युको अशुभ खबर सुन्नु परेको छ । यस्तो संक्रमण र संकटको बेलामा कुनै पनि पक्षबाट आन्दोलन घोषणा हुनु जनता प्रतिको गैरजिम्मेवारीपन हो । यसले कुनै समुह वा व्यक्ति क्रान्तिकारी कहलिदैन । तसर्थ फगत स्वार्थको लागि आन्दोलन होइन, जनता जोगाउन तिर लागौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र यादवपक्ष) , एमाले (माधवकुमार नेपाल पक्ष) ले त्यसको विरुद्धमा संघर्ष गरिरहेका छन् । त्यसै अन्तर्गत जसपा (उपेन्द्र यादव पक्ष) ले प्रदेश २ मा भोलीसम्मका लागि आन्दोलनको कार्यक्रम तय गरेको छ ।
जसपा प्रदेश २ ले आज सम्पूर्ण स्थानीय तहमा प्रधानमन्त्री अोली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाउने छ भने भोली मसाल जुलुस प्रदर्शन गर्नेछ ।
प्रधानमन्त्री अोलीले गरेको संसद विघटनलाई जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले समर्थन गर्नुभएको छ ।
जसपा प्रदेश २ ले घोषणा गर्यो प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धका आन्दोलन कार्यक्रम


तपाईको प्रतिक्रिया