काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गरेको २० जनाको नाम निर्वाचन आयोगमा बुझाउनु भएको छ । ती २० जनामध्ये १४ जना महन्थ ठाकुर पक्षका मात्र रहेका छन् भने बाँकी ६ जना राजेन्द्र महतो पक्षका रहेका छन् । शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवका एकजना मान्छे राखेका छ्रैनन् ।
पार्टीमा विवाद चलिरहेको बेला यसरी कार्यकारिणी समिति विस्तार गर्नु राम्रो नभएको जसपा नेपालका कतिपय नेताको बुझाई छ । यो विस्तारले पार्टीमा झन विवाद थपिने उहाँहरुको बुझाई रहेको छ ।
जसपाका अध्यक्ष ठाकुरले जेठ ३० गते शीर्ष नेताहरुको बैठकबाट कार्यकारिणी समितिमा २० जनाको नाम थप्नु भएको छ । जसपा नेपालका केन्द्रीय सदस्य सीपी सिंहले भन्नुभयो, कार्यकारिणी समिति विस्तार गरेर पार्टीमा झन विवाद बढाउनु भएको छ उहाँहरुले ।’
पार्टी एकताका लागि विवाद चलिरहकै बेला महन्थ ठाकुरले एकतर्फी रुपमा कार्यकारिणी समिति विस्तार गर्नु राम्रो कार्य नभएको उहाँले बताउनुभयो ।
पार्टीमा कुनै पनि निर्णय सर्वसहमतिले गराउँदा राम्रो हुन्छ, एकदुई जना बसेर गरेको निर्णय विवादास्पद हुने उहाँले बताउनुभयो । पार्टीभित्र कसैलाई काखा कसैलाई पाखा गरेर पार्टी नचल्ने भएकाले यही गुटबन्दीका कारण राजपा चल्न सकिरहेको थिएन अहिले जसपामा पनि यही रोग सुरु भएको बताउँदै उहाँले एकता जोगाउनका लागि गुटबन्दी अन्त्य हुनुपर्ने बताउनुभयो । सिपी सिंह राजपा नेपालमा महासचिव हुनुहुन्थ्यो । उहाँलाई जसपामा महन्थ ठाकुर पक्षका नेता मानिन्छ ।
त्यस्तै ठाकुर पक्षका अर्का नेता एवं प्रदेश २ का प्रदेशसभा सदस्य बिक्की यादवले पनि कार्यकारिणी समिति विस्तारप्रति असन्तुष्टि जनाउनु भएको छ । उहाँले पार्टीमा आन्तरिक विवाद चलिरहेकै बेला यस्तो विस्तार गर्नु हुँदैन्थ्यो, गरेपनि सर्वसम्मतिबाट सबैको सल्लाहले समावेश गर्नुपथ्यो तर एक दुईजना नेताले आफ्नो वरिपरीका नेतालाई राखेर पार्टीमा विवाद उत्पन्न गराएको बताउनुभयो ।
राज्यद्वारा आन्तरिक उपनिवेश बनाइएका मधेस, मधेसी समुदाय र राज्यबाटै पछाडि पारी अधिकार पहिचान विहिन बनाइएका आदिवासी जनजाति समुदायका आशा र विश्वासका केन्द्र जसपा बनेको अवस्थामा सबै नेता कार्यकर्तालाई सम्मानजनक समायोजन गरी जसपालाई एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने ठाउँमा नेतृत्व तहबाटै पार्टी, संगठन, नेता कार्यकर्ता कब्जा गर्ने प्रवृत्ति हाबी हुनु दुःखद भएको उहाँले बताउनुभयो ।
विभिन्न आन्दोलनका संगठित रुप जसपा हो र आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि संघर्ष गर्ने एक मात्र पहिचानवादी परिवर्तनकारी शक्ति जसपा कुनै पनि बहानामा कुनै पनि हालातमा फुट्न नहुने उहाँले बताउनुभयो ।
महन्थ ठाकुरले कार्यकार्यकारिणी समितिमा थप गर्नुभएका २० जनाको नामः
१.बाबुलाल साह
२.विजय गुप्ता
३.अर्जुन उप्रेती
४.अरविन्द साह
५.जयप्रकाश ठाकुर
६.उपेन्द्र महतो
७.मुकेश झा
८.शतरजित यादव
९.एकवाल मियाँ
१०.रमेश पटेल
११.विमल श्रीवास्तव
१२.उमाशंकर अरगरिया
१३.सन्तोष मेहता
१४.डा.विजय सिंह
१५.कृष्ण सिंह
१६.प्रमेश्वर साह
१७.अभिराम शर्मा
१८.राजिव झा
१९.सुरेश मण्डल
२०.डा.सुरेन्द्र झा


तपाईको प्रतिक्रिया