काठमाडौँ फागुन २ गते । जनमत पार्टीले आफ्नो दल छाडेर गएकालाई पुनः नफर्काउने भएको छ । तीन दिनसम्म चलेको जनमत पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टी छाडेर गइसकेकालाई पुनः पार्टीमा नफर्काउने, फर्काउनै पर्ने परस्थिति आए ६ वर्षसम्म कुनै पनि पदाधारी तथा उम्मेदवार बन्न नपाउने छलफल भएको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी छाडेर गएकालाई त्यतिकै फर्काउदैनौं, फर्किन चाहे भने फर्काउन मिल्छ तर केही समय पदाधिकारी र उम्मेदवार नबनाउने छलफल भएको हो तर निर्णय भएको छैन ।’
संगठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठन, घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तैयारी, भातृसंगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापनलगायतमा छलफल भएको उहाँले बताउनुभयो ।
पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई पार्टी प्रवेश शीघ्रताका साथ गराउने र त्यसको लागि संयन्त्र निर्माण गरिने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
स्थानीय र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनहरूको समीक्षा, विभिन्न जिल्लाबाट आएका गुनासाहरू उपर सुनुवाई र कारबाहीको सिफारिशको विषयमा समेत बैठकमा छलफल भएको हो ।
निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अरू नै पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदबार बनेका सदस्यहरूमाथि कडा कारबाही गरिनु पर्ने समेत छलफल भएको छ । एक पटक पार्टी छाडेपछि पुनः पार्टीमा फर्किन नदिने वा फर्किए पनि ६ वर्ष कुनै पदाधिकारी वा उम्मेदबार बन्न नपाउने सहितका कारबाहीहरूमाथि समेत छलफल भएको तर सो सम्बन्धमा निर्णय हुन बाकी नै रहेको उहाँले बताउनुभयो ।
साथै नेता र कार्यकर्ताहरूलाई अनुशासित र मर्यादित बनाउन तथा चेनाअफकमाण्डमा रहेर काम गर्न पार्टीले निर्देशन दिनएको छ ।
तपाईको प्रतिक्रिया