‘केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ । यस्तो हुनु हुँदैन थियो ।’
नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारी गरिरहनु भएको बेला पूर्व प्रधानमन्त्री समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका ‘द हिन्दु’ पत्रकारलाई दिनु भएको अन्तरवार्तामा यो कुरा भन्नुभएको हो । प्रधानमन्त्री ओली यसअघि दुई पटक प्रधानमन्त्री हुँदा पनि यस्तै गरि चाइनकार्ड प्रयोग गर्नुभएको थियो । त्यतिबेला चाइनाकार्डको असर भारतलाई गरेको थियो तर यसपटक चलेन प्र्रधानमन्त्री ओलीको चाइनाकार्ड । प्रधानमन्त्री ओलीले पटक पटक भारतको विरुद्धमा चाइनाकार्ड प्रयोग गरेको थाह पाएर नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसपटक खुलेर कुरा राख्नु भयो ।
एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएको भण्डै छ महिना हुन लागेको छ तर भारतले हालसम्म भ्रमणका लागि निम्तो दिएको छैन । प्रधानमन्त्री ओली भारत भ्रमणका लागि आतुर हुनुहुन्छ । तर भारतले कट सी का लागि भए पनि भ्रमणको निम्तो दिएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो देला कि भनेर प्रधानमन्त्री अोलीले पर्खेर बस्नु भएको छ । यहाँसम्म कि निम्तोको आशमा प्रधानमन्त्री ओलीले उल्टै त्यहाँका प्रधानमन्त्री मोदीलाई तीन पटकसम्म नेपाल भ्रमणको निमन्त्रणा दिइसक्नु भएको छ । तर भारतका प्रधानमन्त्री मोदीले त्यसको कुनै रेसपोन्स गर्नुभएन । न प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनु भयो, न प्रधानमन्त्री अोलीलाई नै बोलाउनुभयो ।
गत साउन २२ गते नेपाल भ्रमणमा आउनु भएका भारतका विदेश मन्त्री बिक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पठाउनु भएको थियो । त्यसपछि भदौंमा भारत भ्रमणमा जानु भएका काँग्रेसीका नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामार्फत पनि उहाँले निमन्त्रणा पठाउनु भएको थियो । युएनको महासभामा भाग लिन अमेरिका गएको बेला गत असोज ७ गते प्रधानमन्त्री मोदीसँग भेट हुँदा उहाँ स्वयंले पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । तीन तीन पटक निमन्त्रणा पाए पनि प्रधानमन्त्री मोदीले ओलीलाई कुनै महत्व दिनु भएन । तैपनि प्रधानमन्त्री ओली भारतबाट निमन्त्रणा आउँछ कि लामो समय पर्खिनु भयो जब निमन्त्रणा आउने नभएपछि चीन जाने निश्चित गर्नुभयो ।
चीनबाट निमन्त्रणा मगाएर भ्रमणको तयारीमा जुट्नुभयो । चीन जाने निश्चित गरेपछि भारतले हतार हतारमा निमन्त्रणा पठाउँछ कि भनि बुझाई प्रधानमन्त्री ओलीको थियो । किनभने यसअघि यस्तै चाइनाकार्ड प्रयोग गरेर भारतलाई गलाउन सफल हुनुभएको थियो । त्यही कार्ड यसपटक पनि उहाँले प्रयोग गर्नुभयो तर यसपटक उहाँ सफल हुनुभएन । भारतले निमन्त्रण नपठाएपछि उहाँ चीन जाने तयारी अवस्थामा हुनुहुन्छ । मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्नुहुन्छ भनि दुवै देशका सरकारले औपचारिक घोषणा गरिसकेको छ ।
२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमाथि भारतको नाकाबन्दी थियो । त्यसले गर्दा भारतसँग ओलीको राम्रो सम्बन्ध थिएन । एक त संविधान निर्माणको विषयलाई लिएर पनि ओलीसँग भारतको राम्रो थिएन । नाकाबन्दीले गर्दा झन दुरी बढेको थियो । नाकाबन्दीको समय भारतको सबभन्दा बढी आलोचना गर्ने प्रधानमन्त्री अोली नै हुनुहुन्थ्यो । संविधान निर्माणमा भारतले गरेको हस्तक्षेपको खुलासा पनि प्रधानमन्त्री ओलीले नै गर्नुभएको थियो । तत्कालिन भारतीय विदेश सचिव एस.जयशंकर नेपाल आएर संविधान निर्माणको कार्यलाई स्थगित गर्न दिएको दबावको खुलासा प्रधानमन्त्री अोलीले नै गर्नुभएको थियो ।
संविधान निर्माणदेखि नै भारत प्रधानमन्त्री ओलीप्रति चिढिएको थियो । पछि नाकाबन्दी लगाउँदै अोलीले भारतको खुलेर विरोध गर्नुभएको थियो । भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थलगायत अन्य समानहरु चीनबाट ल्याउने भनि त्यति नै बेला चीनसँग सम्झौता गर्नुभएको थियो । त्यसले भारत प्रधानमन्त्री ओलीप्रति झन चिढिनु भएको थियो र सोही कारणले भ्रमणको निमन्त्रणा दिइरहेको थिएन ।
जब कि प्रधानमन्त्री ओली भारतको भ्रमण गर्ने इच्छा देखाइ रहनु भएको थियो । तर भारतले निमन्त्रणा दिइरहेको थिएन । त्यसपछि ओलीले चाइनाकार्ड प्रयोग गर्नुभयो । आफ्नो चीन भ्रमणको तयारीका लागि तत्कालिन परराष्ट्रमन्त्री कमल थापालाई चीन पठाउनु भएको थियो । भ्रमणको सम्पूर्ण तयारी पूरा गरी जब थापाले त्यहाँका परराष्ट्रमन्त्री वाङ् यीसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गरे अनि त्यसपछि भारत झस्केको थियो ।
अब पनि निमन्त्रणा गर्न ढिलो गरियो भने नेपालसँगको सम्बन्धले अर्को मोड लेला भनि भारतले आँकलन गरेर नै त्यति बेला भारतले नेपालमाथि लगाइएको नाकाबन्दी फिर्ता लिएर प्रधानमन्त्री अोलीलाई हतार हतारमा भारत बोलाएको थियो । ओली भारत भ्रमणमा गए पनि त्यहाँ खासै उपलब्धी हुन सकेको थिएन । यतिसम्मको कटुता थियो कि दुई देश बिच संयुक्त विज्ञप्ति समेत जारी हुन सकेको थिएन । निराश र क्रोधित भएर भारतबाट फर्किनु भएका प्रधानमन्त्री ओली २०७२ चैत ७ गते चीनको भ्रमणमा जानु भएको थियो । भारतले नाकाबन्दी खोले पनि नेपालसँग सम्बन्ध सुधार गर्ने कुनै छाटकाट नदेखाएपछि प्रधानमन्त्री ओली भारतबाट फर्के लगतै एक महिनापछि चीन भ्रमणमा जानु भएको थियो ।
त्यतिबेलाको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उहाँका धर्मपत्नी राधिका शाक्य, तत्कालिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, तत्कालिन वाणिज्यमन्त्री दीपक बोहोरा, तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतका हुनुहुन्थ्यो । सो चीन भ्रमणको क्रममा दुई देशको बीचमा १० बुँदे सम्झौता भएको थियो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको थियो ।
त्यसमा अरुण तेस्रो किमाथांका जलविद्युत परियोजना, रसुवागढी केन्द्र अन्तरदेशीय विद्युत प्रशारण लाइन, अन्तरदशीय रेलमार्ग, पोट्रोलियम खानीको अन्वेषण, पोखरा अन्तराष्ट्रिय विमानस्थल, सहुलियत वैकिङ् ऋण लगायतको सम्झौता भएको थियो । त्यसमध्ये भारतको हितमा कुनै पनि सम्झौता थिएन भनि भारतीय पक्षले त्यतिबेला विश्लेषण गरेको थियो । जानकारहरु भन्छन्, ‘यी सम्झौताहरु हुनुको कारक त्यतिबेला भारत नै थियो ।’ भारतले भाव नदिएपछि अोलीले चाइनकार्ड प्रयोग गर्नुभएको थियो ।
दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रधानमन्त्री ओली पहिलो भ्रमण चीनकै गर्न चाहनु भएको थियो । त्यसको तयारीका लागि तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चीन पठाउनु भएको थियो । तर, मन्त्री ज्ञवाली चीनबाट नफर्किदै भारतले एकतर्फी रुपमा प्रधानमन्त्री अोलीलाई भारत भ्रमणको निम्तो मात्र दिएन मिति घोषणा नै गरेको थियो । जुन कुराबाट नेपाल अनभिज्ञ थिए । नेपाललाई भारत भ्रमणको विषयमा कुनै औपचारिक जानकारी नहुँदै भारतीय पक्ष त्यसको तयारीमा जुटीसकेको थियो ।
त्यतिबेला पनि ओलीले भारताके विरुद्ध चाइनाकार्ड प्रयोग गर्नुभएको धेरैको बुझाई रहेको छ । चीन भ्रमणको तयारीका लागि तत्कालिन मन्त्री ज्ञवालीलाई चीन नपठाएको भए भारतले हतार हतारमा निमन्त्रणा दिन्थेन होला । प्रधानमन्त्री ओलीले २०७४ चैत्र २३ देखि २५ सम्म भारतको भ्रमण गर्नुभएको थियो । २५ गते काठमाडौं फर्केर २६ गते चीनको हाइनानस्थित बोआओमा हुने बोआओ एसिया फोरममा सहभागी हुन जाने ओलीको तयारी थियो ।
ओलीले चीन जाने भएर नै त्यतिबेला भारत भ्रमणलाई तीन दिनमा सिमिति गरेको थियो । भारतले चैत २४ चैतदेखि ओलीलाई भ्रमण गराउने कार्यक्रम तय गरेको थियो तर नेपालले नै २३ गतेदेखि बनाएको थियो ताकि तीन दिनमा भ्रमण सकाएर २६ गते चीन जान सकोस् । तर, भारतको दबावका कारण प्रधानमन्त्री ओली बोआओ सम्मेलनमा समेत भाग लिन जानु भएन । उहाँ आफै नगए पनि अरु उच्च तहका प्रतिनिधिलाई सो सम्मेलनमा सहभागी गराउनु पथ्र्यो तर उहाँले त्यतिसम्म पनि गर्न सक्नु भएन । जब कि त्यसअघि राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री स्तरका नेपाली प्रतिनिधिले त्यसमा भाग लिनु भएको थियो ।
प्रधानमन्त्री ओली भारत भ्रमण सकाएर फर्केको १८ दिनपछि भारतका प्रधानमन्त्री मोदी चीन पुग्नु भएको थियो । प्रधानमन्त्री मोदीको त्यो चीन भ्रमण अनौपचारिक थियो । अनौपचारिक भए पनि नेपाल भ्रमण गर्नुअघि उहाँ चीन भ्रमणमा जानु नै त्यतिबेला चासोको विषय थियो । प्रधानमन्त्री मोदीले ओलीलाई चीन जानबाट रोकेर त्यतिबेला आफै किन चीन जानुएको थियो त्यो पनि चर्चाको विषय बनेको थियो । त्यतिबेला प्रधानमन्त्री मोदी चीनमा चिनियाँ राष्ट्रपति सी चिन फिङ्गलगायत अन्य उच्च पदस्थ व्यक्तिसँग भेट्नु भएको थियो । भनिन्छ, उहाँले सो क्रममा नेपाल, भारत र चीन सम्बन्धमा पनि कुरा गर्नुभएको विषय त्यतिबेला भारतीय सञ्चारमाध्यममा आएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी तीन दिनपछि चीनबाट फर्किनु भएको थियो । त्यसको १३ दिनपछि मात्र नेपाल भ्रमणमा आउनु भएको थियो । चीनबाट फर्केको डेढ महिनापछि प्रधानमन्त्री मोदी पुनः संघाई सहयोग संगठन (एससीयो) मा भाग लिन चीन पुग्नु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ चिनियाँ राष्ट्रपतिदेखि लिएर विभिन्न देशका प्रमुखलाई छुट्टा छुट्टै भेट्नु भएको थियो । जब कि त्यो एससीयो सम्मेलनमा भाग लिनका लागि नेपाल पनि जानु पर्ने थियो । त्यसको सदस्य राष्ट्र (डायलोग पार्टनर) नेपाल पनि हो । तर चीनले नेपाललाई निमन्त्रणा नै गरेन । स्रोत भन्छ, चीनले बोआओ सम्मेलनका लागि नेपाललाई निमन्त्रणा गरेपनि सहभागी भएको थिएन त्यही भएर एससीयोमा बोलाएन ।
भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्केको एक हप्तापछि मात्र प्रधानमन्त्री ओली चीन भ्रमणमा जानु भएको थियो । प्रधानमन्त्रीकै रुपमा केपी शर्मा आलीले दोस्रो पटक एक वर्ष तीन महिनापछि चीनको भ्रमणमा जानु भएको थियो । चीनबाट फर्केपछि प्रधानमन्त्री अोलीको भारतसँग झन दुरी बढेको थियो । एमालेका नेताहरु भन्छन्, ‘कमरेड ओलीले भारतसँग टक्कर लिएकै कारण त्यतिबेला नेकपा खटपट सुरु भएको थियो । भारतकै सहयोगमा प्रचण्ड र माधवकुमार नेपालहरु प्रधानमन्त्री ओलीजीलाई अप्ठ्यारोमा पार्नुभयो जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु थियो त्यसका लागि काँग्रेस र मधेशवादी दलहरु पनि लागि परे ।’
तत्कालिन नेकपा (एकीकृत)मा खटपट सुरु भएको थियो । नेकपाको अर्को अध्यक्ष प्रचण्ड हुनुहुन्थ्यो । सरकार राम्रोसँग चलाउन नसकेको, सरकारमा भ्रष्टाचार मौलाएको जस्ता आरोप लगाएर प्रचण्डहरु ओलीबाट टाढिन सुरु गर्नुभएको थियो । पछि सो पार्टी नै विभाजन भयो । विभाजन भएपछि अोलीमाथि झन दबावहरु बढ्न थालेको थयो । त्यसको रिसमा प्रधानमन्त्री अोलीले संसद विघटन नै गर्नुभएको थियो । एकपटक होइन दुई–दुई पटक संसद विघटन गर्नुभएको थियो । त्यसको विरुद्धमा दलहरुले आन्दोलन गरेको थियो । अन्ततः सरकारबाट नै हट्नु परेको थियो ।
त्यसपछि उहाँ लामो समयसम्म सरकारभन्दा टाढा रहनु भएको थियो । २०७९ को चुनावपछि माओवादी र काँग्रेस गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । बिचमा माओवादीका अध्यक्ष प्रचण्डले एमालेसँग पनि सहकार्य गर्नुभएको थियो तर छोटा समय मात्र चलेको थियो त्यो सहकार्य ।
पछि एमालेले पनि काँग्रेससँग मिलेर माओवादीलाई धोका दियो । काँग्रेससँग गठबन्धन बनाएर एमालेबाट ओली प्रधानमन्त्री बन्नुभएको हो । जुन कुरा भारतलाई पचेको छैन । ओली प्रधानमन्त्री बनेपछि भारतविरोधी गतिविधि नेपालमा अत्याधिक हुने गरेको थाह पाएर भारतले ओलीसँग सम्बन्ध नै बनाउन चोहको छैन । भारतले अोलीलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको छैन । त्यही भएर हालसम्म भारत भ्रमणको निमन्त्रणा दिएको छैन । यद्यपी प्रधानमन्त्री अोलीले आफैले चीन भ्रमणबाट फर्केपछि भारत भ्रमणमा जाने घोषणा नै गर्नुभएको छ । परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले पनि प्रधानमन्त्री अोली चीनबाट फर्केपछि भारत जानु हुन्छ भनि धारणा सार्वजनिक गरिसक्नु भएको छ । तर भारतबाट त्यस्तो संकेत हालसम्म आइसकेकेको छैन ।
तपाईको प्रतिक्रिया