श्यामसुन्दर यादव
सप्तरी, भदौ८ गते । गत मङ्गलवार प्रहरीको गोलीबाट मृत्यू भएका राजिव भनिने राजेन्द्र कुमार राउतको आज जन्मस्थान भारदहमा अन्त्येष्टि गरिने भएको छ ।
स्वायत्त मधेश प्रदेशको माग गर्दै सप्तरीको भारदहमा जारी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यू भएको थियो भने करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए । भदौ १ गतेदेखि उनको शव धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।
राउतलाई शहीद घोषणा, पीडित परिवालाई क्षतिपूर्ती, घटनामा संलग्न दोषीलाई कार्वाही, राउतका परिवारको भरणपोषण तथा बालबच्चाको शिक्षादीक्षा तथा रोजगारीको सुनिश्चितता लगायतका मागहरु मधेशी मोर्चा सप्तरीले अघि सारेको थियो । नेपाल सरकारले राउतका परिवारलाई दश लाख रुपैयाँ तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउने लगायतको निर्णय गरेपछि राउतको शव पोष्टमार्टम गराई सोमवार राती जन्मस्थान भारदह ल्याइएको थियो ।
हज्जारौं जनसमुदाय तथा राजनीतिकर्मीहरु सम्मिलत राउतको शवयात्रा जन्मस्थान भारदह हुँदै हनुमाननगर, इनर्वा, मन्सापुर, तोपा, तेतरीगाछी हुँदै सदरमुकाम राजविराज ल्याइएको छ । राजविराजको गजेन्द्र चौकमा समेत राउतको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही समय राखिएको थियो । नगरको विभिन्न भाग परिक्रममा पश्चात उनको शवयात्रा सिरहाको लहानतर्फ प्रस्थान गरेको छ । त्यस क्रममा रुपनी, ट्राफिक चौक शम्भुनाथ, कठौना, कल्याणपुर, बिसनपुर, खर्चुहिया, कडरबोना, कुशहा, कदमाहा लगायका स्थानहरुमा समेत स्थानीय वासिन्दाहरुले राउतलाई श्रद्धाञ्जली दिएका छन् ।
लहान परिक्रमा पश्चात शवयात्रा कञ्चनपुर, बरमझिया हुँदै पुनः भारदह लगी आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको स्थानीयवासिन्दा समेत रहेका संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी दिएका छन् । शवयात्रामा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिस कुमार सुमन, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, एनेकपा माओवादीका सभासद् मानपुर चौधरी लगायतका केन्द्रिय नेता तथा मधेशवादी दलका जिल्ला अध्यक्षहरुको समेत सहभागिता रहेको छ ।
मृतक ३० वर्षिय राउतको पत्नी निलम देवी तथा डेढ वर्षको छोरो आर्यन र तीन महिनाकी छोरी आरजु रहेको छ ।












तपाईको प्रतिक्रिया