Khadya Bibhag

मधेशको माग पुरा नभएसम्म वार्तामा नजाने मोर्चाको प्रतिवद्धता

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु

विराटनगर, भदौ ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्षस्थ नेताहरुले आफ्ना माग सम्बोधन नभए काठमाडौं नफर्किने  प्रतिबद्धता व्यक्त गर्नु भउको छन् । उनीहरुले मधेससँग विगतमा भएका सम्झौता कार्यान्वयनको स्पष्ट प्रतिवद्धता नआउञ्जेल कुनै वार्ता नहुने र आफूहरु काठमाडौ पनि नजाने उद्घोष गरेका छन् । विराटनगरमा आइतबार मोर्चाले आयोजना गरेको विरोध सभामा बोल्दै मधेशी नेताहरुले वार्ताको ‘ललीपप देखाएर मात्र’ आफूहरु काठमाडौं नजाने स्पष्ट गरे ।

 संघीय समावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका सम्झौतालाई कुल्चिएर जर्बजस्ती संविधान ल्याउन खोजेकोले आफूहरुलाई मान्य नभएको बताए ।  उनले भने,‘मधेशको अधिकार कटौती गरेर आउने संविधान र संघीयता हामीलाई मान्य छैन, त्यस्तो संघीयताले हाम्रो आन्दोलनको मर्मलाई सम्बोधन गर्न सक्तैन् । यादवले बहुसंख्यक मधेशी, आदिवासी, जनजाति, दलित र पिछडा वर्गको हित हुने गरी संविधान आउनु पर्ने बताए । 

तराई मधेश लोकतान्त्रि पार्टीका अध्यक्ष महन्त ठाकुरले राज्यबाट सबैले समान अधिकारको अपेक्षा गरेपनि विगतदेखि नै ठगिने वर्ग ठगिदै आएको बताउँदै भने,‘संविधान भनेको वर्तमानको नविनतम रुप र भविष्यको रेखा हो तर हाम्रोमा ठिक उल्टो भएको छ । संविधानको मस्यौदा आउँदा नै विरोध हुन थालेको छ । यो दुर्भाग्यपूर्ण हो ।’उनले सबैको अधिकार सुनिश्चित हुने संविधान जनताको चाहना भएको बताए । अहिलेको संघीयताको खाकाले मधेशको माग सम्बोधन नभएको बताउँदै ठाकुरले बहुसंख्यक मधेशीहरुको आन्दोलनलाई उपेक्षा नगर्न चेतावनी दिए । उनले संविधान निर्माणको सबै काम स्थगन गरेमात्रै वार्ता हुनसक्ने बताए । 

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आठ वर्षअघि नै भइसकेकोले अब सरकारसँग कुनैपनि वार्ता नहुने बताए । अन्तरिम संविधानमा उल्लेख भएका विषय र मधेशसँग २०६४ मा भएको सहमति कार्यान्वयन नहुञ्जेल कुनै वार्ता नहुने उनले बताए । महतोले भने,‘२०६४ मै वार्ता भई आठ बुँदे सहमति भइसकेको छ । अब वार्ता हुन सक्तैन । गिरिजाप्रसाद कोइरालासँग भएको वार्ता फेरि किन सुशील कोइरालासँग गर्ने ? उनले अन्तरिम संविधानको भावना तथा मर्मअनुसार संघीय राज्यको खाका नआए आफूहरुलाई मान्य नहुने बताए । महतोले लाठी लिएर सडकमा उत्रन र आफूहरु पहाडसँग मिसाइएको जिल्लाको बासिन्दा नहुने भन्ने माग गर्न आग्रह गरे । झापा, मोरङ र सुनसरीको चुरेदेखि तलको भाग मधेश प्रदेश बनाइनु पर्ने उनले माग गरे ।

तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधान निर्माण प्रक्रिया रोकेर नयाँ शिराबाट वार्ता गर्ने प्रस्ताव नआउञ्जेल आफूहरु काठमाण्डौ नजाने बताए । यादवले भने,‘विगतको सहमति कार्यान्वयन हुनुपर्ने ग्यारेन्टी छैन । वार्तामा आउ, वार्तामा आउ भन्दा हामी जानेवाला छैनौं ।’

तपाईको प्रतिक्रिया