Khadya Bibhag

घुसपैठियाले गर्दा आन्दोलन बदनाम र कमजोर भएका छन्

–रेणु यादव
उपाध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

चार दलले मिलेर ल्याएको ६ प्रदेशको खाकापछि थारु समुदाय जुरुक्क उठे तर मधेशीवादी दलहरु सुस्त भएका छन् किन यस्तो ?
–छैन, सुस्त कहाँ भएको छ । मधेशवादी दलका नेताहरु सडकमै छन् । आन्दोलन गरि नै रहेका छन् । साउन २५ गते ६ प्रदेशको घोषणा हुँदा त्यसलाई जलाउने र च्यात्ने काम पहिला मधेशवादी दलबाट नै भयो । सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाहरु तत्कालै बन्द गराएर त्यसको विरोध गरे । धनकुटादेखि हेटौडासम्म, नवलपरासीदेखि कञ्चनपुरसम्म जनसभाहरु भएकै छन् । तपाईले भनेको जस्तो सुस्त भएको छैन ।

मस्यौदाको विरुद्धमा असार ४ र ५ गते जसरी मधेशी जनता सडकमा आए त्यसरी प्रदेश आइसक्दा देखिएन । जबकि मुख्य कुरा संघीय प्रदेश नै हो । अधिकारको कुरा बढी त्यहाँ नै हुन्छ । त्यसमा नै सबभन्दा बढी विरोध जनाउनु पर्ने तर त्यस्तो देखिएन किन ?
–तपाईले भनेको कुरा एक हदसम्म सही पनि हुनसक्छ । जुन किसिमले मस्यौदाको विरोध भयो त्यसखालको विरोध अहिले भइरहेका छैन । सडकमा आउनु पर्ने बेला यही हो । यसैका लागि मधेशीले सहादत दिएका थिए । यद्यपी आन्दोलनलाई सशक्त बनाउने व्यापक तयारी भइरहेको छ । जिल्ला जिल्लामा पार्टीको सर्कुलर पनि गइसकेको छ ।

असार ४ र ५ गतेको जस्तो आन्दोलन किन हुन सकेन त ?
–प्रत्येक आन्दोलनको इतिहासलाई तपाईले हेर्नुस् । त्यहाँ कोही न कोही कुनै न कुनै रुपमा घुसपैठिया भएका हुन्छन् । आन्दोलनलाई कमजोर बनाउने, त्यसलाई बदनाम गराउने काम भइ नै रहेका हुन्छन् । अहिलेको मधेश आन्दोलनमा पनि त्यस्तो देखिएको छ । त्यस्ता घुसपैठियाहरुका कारण आन्दोलन अलि कमजोर भएको छ तर त्यसलाई चिरेर अगाडि बढ्ने प्रयास भइरहेको छ ।

तपाईहरुले मागेको एक मधेश एक प्रदेश त सप्तरीदेखि पर्सासम्म दिएकै छन् भने अब के के लडाई ?
–हाम्रो माग सप्तरीदेखि पर्सासम्मलाई एक मधेश एक प्रदेश बनाउनु थिएन । हामीले त समग्र मधेश एक स्वायत्त प्रदेशका माग गरेका थियौ । जो झापादेखि कञ्चनपुरसम्मको भूभाग हो । २२ वटा मधेशका जिल्ला रहेका छन् तर अहिले आएर ८ जिल्लालाई मधेशमा सिमित गरि दिएका छन् जो हामीलाई कदापी स्वीकार हुँदैन । झापा, मोरगं र सुनसरी पनि मधेशमै मिलाउनु पर्छ भने उदयपुर, चितवन, बाँके बर्दिया, कञ्चनपुर, कलैलाी, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाहरु पनि मधेशमै राख्नुपर्ने हाम्रो माग रहेको छ । यी जिल्लाहरुको आफ्नै पहिचान र भूगोल रहेको छ र सोही अनुसार अधिकार पाउनु पर्छ । एउटा टप्पुमा घर बनाए जस्तै मधेशलाई पनि आठ जिल्लामा सिमित गरेको छ त्यो पनि विना साधनस्रोत । ती प्रदेशलाई कुनै अधिकार दिएको छैन । सबै अधिकार र साधन स्रोतमा कटौती गरेको छ । ६ प्रदेश कुनै पनि हिसाबले वैज्ञानिक नरहेकाले त्यसलाई स्वीकार गर्न सकिदैन ।

यदि चार दल यी ६ प्रदेशमै अडान लिएर त्यसलाई घोषणा गर्यो भने तपाईहरु के गर्नुहुन्छ ?
–हामी चाहन्छौ त्यस्तो गल्ती नहोस् । राज्यले आजसम्म जनताको विरोधमा गरेका कामको प्रतिफल पाएका छन् भने कुरा यी चार दलले सायद विर्सेका छैन । शासक जनताके विरोधमा जानै सक्दैन । राणाहरुको के अवस्था भयो । शाह वंशीय राजाहरुको के अवस्था भयो त्यो कुरा कसैबाट लुकेको छैन । ज्ञानेन्द्र राजाको अवस्था के भयो यी चार दलका नेताहरुलाई बडो राम्रोसँग थाह छ । त्यसैले म अहिलेलाई यति भन्न सक्छु कि ती चार दलले इतिहास दोहेर्याउने काम नगरोस् । जनताको अवाज सुनियोस् । पहिला त उनीहरुले मधेशले मात्र आन्दोलन गरिरहेका छन् भनिरहेका थिए । अहिले त हिमाल, पहाड, तराई सबैतिरका जनता एक ठाउँमा आएका छन् । आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका सबै एक ठाउँमा आएका छन् । के अब यी चार नेताले मात्र ६ प्रदेश घोषणा गर्न सम्भव छ त ? छैन नि । यदि गर्यो भने त्यसको नतिजा धेरै भयंकर नराम्रो हुन्छ । २०६२÷०६३ भन्दा ठूलो विद्रोह हुन्छ जसलाई यो राज्यले थेग्न सक्दैन ।

अबको आन्दोलन मधेश अलग हुने गरी हुन्छ कि कस्तो हुन्छ ?
–पहिलो कुरा त हामी देश कुनै पनि हालतमा टुक्राउन चाहदैनौ । हामी यही देशमा बसेर संघर्ष गर्न चाहन्छौ । यही जनतासँग मिलेर आफ्नो अधिकार लिन चाहन्छौ । तर यी शासकको विरुद्ध नसोचे जस्तो विद्रोह हुन्छ ।

संघीयता र स्वायत्तताका लागि मधेश विद्रोह भयो त्यसमा ५३ जना मधेशीले सहादत दिए त्यसको बदलामा आज यो हात लाग्यो अझै प्राप्त गर्नका लागि अर्को कस्तो खाले आन्दोलनको तयारी भइरहेको छ त ?
–मैले अघि नै भने कि विनाकाले विपरित बुद्धि । कसैलाई विनाश लेखिएको हुन्छ भने उसको बुद्धि विपरित हुन्छ ।  गर्न के खोजेका हुन्छ र के भइरहेका हुन्छन् । अहिले यी चार दलका नेताहरुको मति बिग्रेको छ । बुद्धि बिग्रेको छ त्यसैले उल्टा सुल्टा काम गरिरहेका छन् र उनीहरुको विनाश अवश्यम्भावी छ । धेरै टाढा जानै पर्दैन । राजा ज्ञानेन्द्रले जनताको शासन आफ्नो हातमा लिएपछि कस्तो आवस्था भयो । सायद उनले अहिले सोच्दै होला कि के बुद्धि मेरो आयो जो मैले जनतासँग खेलबाड गरे । यदि त्यस्तो नगरेको भए आज नारायणहिटीमा राजा भएर बसि रहन्थे कि पनि सोचिरहेका होला । र अहिलेका प्रचण्ड, ओली, कोइरालाहरुले ज्ञानेन्द्रभन्दा कम निरकुँश भएका छैन । त्यसको नतिजा कस्तो हुन्छ भने कुरा तपाईहरुले पनि बुझ्नु भएको छ । कस्तो आन्दोलन हुन्छ त्यो पनि बुझ्नु भएको छ मैले भन्नै पर्दैन ।

मधेशवादी दलका सभासद्हरुले सविधानसभाबाट राजिनामा दिने कुरा भइरहेका छन् नि तपाईको पार्टीले के गर्दैछ ?
–हो अहिले यो कुराले नेपाली राजनीतिकमा निकै चर्चा पाएको छ । तर मेरो विचारमा राजिनामा दिँदा नदिँदा केही फरक पर्दैन । कम से कम अहिले सविधानसभा छ र त्यहाँ बोल्न पाएको छ । त्यहाँ आफ्नो कुरा उठाउन पाएको छ । त्यहाँ नभएको भए आधिकारीक रुपमा आफ्नो कुरा कहाँ राख्न पाउथ्यो । निस्कि हाल्यो भने भोली उनीहरुलाई झन सजिलो हुन्छ प्रतिपक्षि नै त्यहाँ हुँदैन जे मन लाग्छ त्यही गर्छ । त्यसैले मेरो विचारमा सडक र सदनमा संघर्ष गर्नका लागि त्यहाँबाट राजिनाम दिनु आवश्यक छैन । त्यो दिन आउँदैछ जुन दिन राजिनामा दिनका लागि भन्ने पर्दैनन् । सबै मधेशी सभासद्ले आफै राजिनामा दिएर निस्कन्छ । अर्थात आवश्यकता परे भने राजिनामा दिन तयार बस्नु पर्छ ।

त्यो आवश्यकता कहिले पर्छ त ?
–अहिले हामी सडकमा छौ र सदनमा पनि छौ । हामीले दवाव दिइरहेका छौ कि यसलाई सुधार गर । र, अलिकति बुद्धि छ भने यसलाई सुधार गर्छ होला तर जनताको दवावलाई स्वीकार नगरी जवर्जस्ती सविधान घोषणा गर्न लाग्यो भने सविधानसभाबाट राजिनामा दिएर जनतामा जानुपर्छ र त्यहीबाट जनतासँग राय लिई मधेशी जनताले आफ्नो सविधान आफै घोषणा गर्छ ।

तपाईको प्रतिक्रिया