–रामेश्वर राय यादव
वरिष्ठ उपाध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
तपाईको पार्टीको यतिखेर निकै विरोध भइरहेको छ नि किन ?
–अहिलेको मस्यौदामा जुन ६ प्रदेशको खाको आएको छ । त्यो कसैलाई स्वीकार छैन । चारैतिर त्यसको विरोध भइरहेका छन् । ६ प्रदेशको खाका ल्याउनेमध्येका दलहरुमा एउटा हाम्रो पार्टी मधेशी जनअधिार फोरम नेपाल (लोकतान्त्रिक) पाटी पनि रहेको छ । त्यस अवस्थामा विरोध हुनु स्वभाविकै हो ।
विरोध हुने खालको काम तपाईका पार्टीले किन गर्यो त ?
–मेरो विचारमा पार्टीले गल्ति गरेको होइन । पार्टीका एउटा व्यक्तिले, पार्टीका एउटा अध्यक्षले सो गल्ति गल्ति गरेका हुन् । यदि पार्टीले गल्ति गरेको भए सवैधानिक, राजनीतिक, सहमति तथा संवाद समितिमा फरकमत दर्ज हुँदैन्थ्यो होला । बैठकमै पार्टीका अन्य सभासद्हरुले त्यसको विरोध गरि बैठक बहिष्कार गरी निस्केका थिए । पार्टीका सम्पूर्ण शक्ति ६ प्रदेशको विरोधमा लागि सकेका छन् । सबै आन्दोलनमा छन् । पार्टीको बैठकमा पनि सबैले एकै स्वरमा ६ प्रदेशको विरोध गरेका छन् । अध्यक्षले हस्ताक्षर गर्नुभएको छ भने त्यसको विरोध भएको छ भने पार्टीले गरेको कसरी मान्ने ।
विजयकुमार गच्छदार तपाईकै पार्टीका अध्यक्ष हुनुहुन्छ नि ?
–हो, तर अध्यक्षले कुनै गल्ति गर्दैमा सबै दोष पार्टीमा जानु पर्छ भने छैन । अर्को कुरा, हाम्रा पार्टीका अध्यक्ष ज्यूले फरक मत राख्नु भएको छ । उहाँले भन्दै हुनुहुन्छ कि म ६ प्रदेशलाई स्वीकार्दिन । मैले राखेको फरकमत अनुसार नै थरुहट प्रदेश बनाउनु छु ।’ त्यो हेर्न बाँकी नै छ ।
तपाईका पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले राखेको फरकमत अनुसार प्रदेश भएन भने के गर्नुहुन्छ ?
–हामी आन्दोलनमा छौ । र, त्यसपछि पनि हाम्रो आन्दोलन जारी नै रहन्छ । हामीले राखेको माग अनुसार संघीय प्रदेश आएन भने सशक्त आन्दोलन हुन्छ त्यसबाट निस्किने परिणामको भागेदार राज्य स्वयं पनि हुन्छ ।
अहिलेको राज्यमा तपाईको अध्यक्ष पनि भागिदार हुनुभएको छ के अब तपाईहरु आफ्नो अध्यक्षको विरुद्ध आन्दोलन गर्नुहुन्छ त ?
–परिवर्तनको विरुद्ध जो उभिन्छ ती सबैको विरुद्ध आन्दोलन हुन्छ । म भन्दिन कि अध्यक्ष विरुद्ध आन्दोलन हुन्छ । उहाँले भन्दै हुनुहुन्छ कि म ब्याक हुन्छु । फरकमत राखे अनुसार नै म सहमति गराउँछु भनिराख्नु भएको छ त्यसैलै हामी त्यति निराश भएका छैनौ । अहिले पनि हामी आशावादी छौ कि ६ प्रदेशमा संशोधन हुन्छ । थारुको पहिचान झल्किने प्रदेश आउँछ ।
खासमा तपाईहरुको माग के हो त ?
–हामीले शुरुदेखि नै मधेशमा दुई प्रदेश हुनुपर्छ भनि भन्दै आएका हौ । समाथ्र्य र पहिचानको आधारमा समग्र मधेशमा मधेश प्रदेश र थरुहट प्रदेश हुनुपर्ने भनि हामी आफ्नो पार्टीको चुनावी घोषणापत्रमा पनि राखेका छौ । मधेशका २२ जिल्लामध्ये कुनै पनि जिल्लालाई टुक्र्याउन पाउँदैन । पहाडि जिल्लामा गाभ्न पाइँदैन भनेका थियौं तर भने अनुसार केही भएन । १६ बुँदे सम्झौता अनुसार ८ प्रदेशमा मधेशमा दुई प्रदेश रहने कुरा थियो । तर कहाँबाट के षड्यन्त्र भयो १६ बुँदे सम्झौता पनि उल्लघंन भयो । अहिले पनि हाम्रो पार्टीका अध्यक्षले १६ बुँदे सम्झौताको आधारमा सहमति गरौं भन्दै आउनु भएको छ ।
तपाईहरु एक मधेश एक प्रदेश माग्नु भएको थियो, सप्तरीदेखि पर्सासम्म एउटा प्रदेश छुट्याई दिएका छन् अब के चाहियो ?
–के मधेशको पहिचान ती जिल्लामा मात्रै छ त । कुनै चार पाँचवटा जिल्ला छुट्याई दिएर यो तपाईहरुको प्रदेश हो भनेर दियो भने त्यसलाई कसरी स्वीकार गर्ने । हामीले मोरगं, झापा र सुनसरीसहितका मधेश प्रदेश मागेका थियौ । पश्चिमका कैलाली, बर्दिया, बाँके, कञ्जनपुर, नवलपरासी, कपिलवस्तुलगायतका मधेशका जिल्ला मिलाएर थारुहट प्रदेश बनाउनु पर्ने माग गरेका थिए । थरुहट प्रदेशको अतोपतो छैन भने मधेश प्रदेशलाई अपाङ्ग बनाएको छ । कुनै साधन स्रोत छैन । यो प्रदेश भयो भने त्यहाँको जनता भोकै मर्छ । कृषिको भरमा त्यहाँका जनता छन् तर सालसालै खडेरी पर्छ । जलस्रोत छैन, स्तरीय कलेज क्याम्पस छैन । सिचाइँ छैन । भरपर्दो बजार छैन । चुरैविनाको मधेश कल्पना गर्न सकिदैन तर चुरेलाई छेकेका छन् । त्यसैले यी ६ प्रदेश कुनै हिसाबले वैज्ञानिक छैन ।
पार्टीमा असन्तुष्ट रहेकाहरु पार्टीमा नबस्ने कुरा ल्याएका छन् नि कहिले अलग हुनुहुन्छ त पार्टीबाट ?
–होइन, त्यस्तो छैन । पार्टीबाट निस्किने कुरा नै हुँदैन । पार्टीभित्र भएका कमीकमजोरीलाई त्यसमा सुधार गर्न सकिन्छ । हाम्रो बैठक जारी छ । साथीहरुले कुरा राखि रहनु भएको छ । निष्कर्ष निस्केला जस्तो छ । पार्टीबाट निस्किने कुरा छैन र यो हुन पनि सक्दैन । पार्टीबाट निस्केर समस्या समाधान हुँदैन । यसअघि पनि थुप्रै पार्टीहरु फुटेका छन् । टुक्रिएका दलहरुको अवस्था पनि त्यस्तै छ । जुन कारणले पार्टी अलग गरेका थिए त्यो समस्या समाधान गर्न सकिरहेका छैन । त्यसैले पार्टी अलग गर्नु समस्या समाधान होइन । समस्यालाई पार्टीभित्रै समाधान गर्नुपर्छ ।



तपाईको प्रतिक्रिया