अपील
आदरणीय जनसमुदाय,
हाम्रा महान पुर्खाहरुले वि.स. २००८ सालमा सुरुवात गरेको संघीयताको माँग २०६४ सालको मधेश विद्रोह पश्चात मात्र मूर्तरुप धारण गर्न सकेको हो । यसका लागि दस वर्षको महान जनयुद्ध तथा ०६२–६३ को ऐतिहासिक जनआन्दोलनले आधारभूमि तयार पारेको कुरा कसैवाट लुकेको छैन । यति लामो संघर्ष र कैयौं दर्जन शहिदहरुको बलिदानवाट प्राप्त अधिकारलाई आज शासक वर्गले दिनदहारै अपहरण गर्ने दुष्प्रयास गरेका छन् । झापा, मोरङ्ग, सुनसरी, जहाँ हाम्रा पुर्खाहरुले कोशीको किनारमा बराहक्षेत्र धामको स्थापना गरेका थिए, आज हामीवाट छिनिएको छ । विश्वलाई नै सत्य र अहिंसाको शिक्षा दिने युगस्रष्टा महान गौतम बुद्धको जन्मस्थललाई पहाडमा मिसाएर हाम्रो पहिचानलाई समाप्त पार्ने दुष्प्रयास भएको छ । सन १८१४–१६ को लडाईमा अंग्रेजभारतले लिइसकेको बाँके, बर्दिया, कैलाली, कंचनपुरलाई सन १८६० मा फर्काएको इतिहास साक्षी छ । यसरी पूर्वमा झापादेखि पश्चिममा कंचनपुरसम्मको भूभाग हाम्रो हो । तराई मधेशको हो । यसका लागि संघर्षको सिवाय अर्को विकल्प छैन । पुर्खाको अर्तिलाई मूर्तरुप प्रदान गर्न ज्यान गएपनि हामी छोड्ने पक्षमा छैनौ ।
यिनै कुराहरुलाई सिरोधार्य गर्दै दर्जनौ शहिदहरुको सूचिमा एक अर्को मधेशी सपूत राजिव राउतहरुको नाम पनि जोडिन गएको छ । आफ्नो अधिकारका लागि संघर्ष गर्दा सप्तरी भारदह–१ का राजिव राउतलाई पहाडी शासक वर्गका जल्लादहरुले हत्या गरेका छन भने कैयौलाई आफ्नो गोलीवाट छल्नी गरेका छन् । जीवनमरणको दोसाँधमा रहेका ती मधेशी सपूतहरुको उपचारको लागि सरकारले सम्पूर्ण खर्च व्यहोर्नु पर्ने हाम्रो माँग रहेको छ । साथै प्रहरीको गोलीको शिकार भएका वीर योद्धा राजिव राउतलाई अविलम्व शहिद घोषणा गर्दै क्षतिपूर्तिको लागि सरकारसंग जोररदार अपील गर्दछौ ।
अहिलेको झगडा पहाडी र मधेशी समुदाय वीचको होइन । त्यो कदापि हुन सक्दैन । अहिलेको अवस्थामा दुइटै समुदाय नेपालको वास्तविकता हो । मिश्रित समाजको निर्माण भैसकेपछि त्यसलाई छुट्याउनु भन्दा कसरी सामञ्जस्ता स्थपित गर्न सकिन्छ भन्ने कुराप्रति मधेशी समाज सधै सजग र चिन्तनशील रहदै आएको छ । त्यसैले मधेशी समुदायको संघर्ष कुनै पहाडी व्यक्तिसंग होइन पहाडी शासक वर्गसंग हो, जसले सैयौं वर्षदेखि उसको पहिचानलाई मटियामेट पार्दै आन्तरिक औपनिवेशीकरण तहत शासन गर्दै आएको छ । यस्तो अवस्थामा लोकतान्त्रिक प्रणालीका खोल आढेका केही पार्टीहरुले प्रजातान्त्रिक अभ्यासको क्रममा आफै सवै समस्या समाधान हुने डिङ्ग हाँकेको कैयौं दशक भैसकेको तथ्य जगजाहेर छ । तर अहिले आएर सवैभन्दा ठूलो अपहरणकारी उनिहरु नै भएका छन् । सप्तरीदेखि पर्सासम्मको भूभागलाई मात्र मधेश देख्ने पंचायती संस्करणका यी अध्येताहरुले झापा, मोरङ्ग सुनसरीमाथिको आफ्नो वर्चश्वलाई यथावत राख्यो । के झापा सिटौला, बुढाथोकीको हो कि सन्थाल राजवंशीको ? मोरङ्ग, सुनसरी कोइरालाको हो कि त्यहाँको थारु, मुस्लीम मधेशीको ? त्यस्तै कैलाली कंचनपुर पक्कै पनि देउवा, लेखक र चटौतको होइन । त्यहाँका भूमिपुत्र थारु हुन । तर आज यिनै सिटौला, कोइराला, देउवा, लेखक र चटौतको व्यक्तिगत लाभ र हानीको आधारमा सिमाङ्कन गरिएको छ । वर्षौवर्षसम्म थारुहरुलाई कमलरी, कमैया जस्तो दासत्व जीवन बाँच्न बाध्य पार्ने यी देउवाचटौतहरु आज उसको आफ्नो भूमिबाट बेदखल गर्ने दुष्प्रयास गरेको छ । यतिमात्र होइन कर्णालीवासीलाई उसको विशेषाधिकारवाट बञ्चित गरिएको छ । यस्तो विषम र प्रतिकूल परिस्थितिमा हामी सवै मधेशी समुदाय महान क. रामवृक्ष यादवको विसम् स्मृति दिवसको अवसरमा उहाँको सपनालाई साकार पार्न सवै शोषित, पीडित उत्पीडित जातजाति, भाषाभाषी, लिङ्ग, वर्ग र क्षेत्रको पक्षमा संघर्ष गर्नु बाहेक अर्को विकल्प छैन ।
एकीकृत नेकपा(माओवादी)
सिरहा, क्षेत्र न. ३



तपाईको प्रतिक्रिया