Khadya Bibhag

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अनिश्चितकालिन बन्दको घोषणा (वित्रप्ति सहित)

काठमाडौँ साउन ३२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा थारु संघ–संगठनहरुले तराई मधेश–थरुहट अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सोमबार दिउँसो बसेको बैठकले अनिश्चितकालिन बन्दको निर्णय गरि घोषणा गरेको हो ।
विजुलीवजार स्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मधेशी मोर्चाको बैठकले मधेश–थरुहटका सम्पूर्ण जिल्ला अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको सद्भावना पार्टीको सह–अध्यक्ष  लक्ष्मणलाल कर्णले वताए ।
चार दलले संविधानसभामा झनै मधेश–थारु विरोधी गतिविधि अगाडि बढाएकोले अनिश्चितकालिन बन्दको घोषणा गरिएको हो । चार दलले घुँडा नटेकेसम्म बन्द जारी रहने मोर्चाका नेताहरुले दाबी गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

प्रेस–विज्ञप्ति
युगौंदेखि नेपाली जनताले गरेको त्याग, तपस्या, संघर्ष र बलिदानको परिणाम नै मुलुकमा आज एकात्मक केन्द्रीकृत एवं नियन्त्रित र निरङकुश राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । ऐतिहासिक मधेस जनविद्रोहको बेला २०६४ साल भाद्र १३ गते भएको २२ बूँदे र २०६४ साल फाल्गुण १६ गते भएको आठ बूँदे सम्झौताका साथै विभिन्न आन्दोलनका समयमा आदिवासी जनजाति, लगायत नेपाल सरकारसँग भएका सम्झौता, सहमति र समझदारीको समेत उल्लङ्घन गरी मुलुकलाई प्रतिगमन तर्फ धकेल्न कार्य चार दल (नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा एमाओवादी, फोरम लोकतान्त्रिक) केही मुट्ठीभर नेताहरुले गरेका छन । चार दलका केही नेताहरुले आफ्ना व्यक्तिगत स्वार्थ परपूर्तिका खातिर ल्याएको संविधानको मस्यौदा समानुपातिक समावेशीकरण, समावेशी लोकतन्त्र, स्वशासन र स्वायत्तता, पहिचानसहितको संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली समेतका विपरीत रहेका छन् ।
यसले मधेशी, आदिवासी जनजाति, थारु, शिल्पी समुदाय (दलित), पिछडावर्ग, महिला, मुस्लिम, उत्पीडित खस, अल्पसंख्यक तथा सीमान्तकृत लगायत विभिन्न समुदायहरुमाथि शताब्दियौंदेखि कायम रहेको भेद्भाव,  असमानता, विभेद, शोषण तथा उत्पीडन अन्त्य गरी उनीहरुको पहिचानको मान्यता, समान अधिकार, अवसरमा समानता र सामाजिक न्यायको प्राप्तिलाई नै निषेध गर्ने कार्य गरेको छ । संविधानको उक्त मस्यौदाले जातीय÷राष्ट्रिय पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता आदिलाई नै धरापमा पार्ने कार्य गरेका छन् । उक्त प्रतिगमनकारी कदमको विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका नवलपरासी, सुर्खेत, जुम्ला, रुकुम, काठमाडौं उपत्यका, मधेश लगायत देश विभिन्न जिल्लाहरुमा सरकारले गोली चलाउने, हत्या गर्ने, गिरफ्तार गरी यातना दिने कार्य गरिरहेको छ ।
मोर्चा उक्त कार्यको घोर भत्र्सना एवं विरोध गर्दै जनताको लोकतान्त्रिक अधिकारको सम्मान गर्दै यस्ता दमनकारी कार्य तुरुन्त बन्द गर्न माग गर्दछ । मधेशी, आदिवासी जनजाति लगायतसँग भएका सम्झौता, अन्तरिम संविधानमा प्राप्त अधिकार, विगतको संविधानसभामा भएको सहमतिहरुलाई कार्यान्वयन गर्ने गरी समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश÷तराई÷थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालको लागी निरन्तर जारी नै रहिरहने छ । आम हड्तालका दौरान, प्रेस, रेडक्रस, विदेशी कुटनीतिज्ञ, ऐम्बुलेन्स, बारुण यन्त्र,  शव बाहन , दुग्धको गाडीलाई अवरोध गरिने छैन । संघर्षका उक्त कार्यक्रमलाई सहयोग गरी सफल पारिदिनुहुन सम्पूर्ण जनतामा हार्दिक अपील गर्दछौं । 
३२ साउन २०७२
उपेन्द्र यादव, अध्यक्ष– संघीय समाजवादी फोरम, नेपाल 

 महन्थ ठाकुर, अध्यक्ष– तराई–मधेश लोकतान्त्रिक पार्टी 

राजेन्द्र महतो, अध्यक्ष– सद्भावना पार्टी 

रामनरेश राय, वरिष्ठ नेता– तराई–मधेश सद्भावना पार्टी, नेपाल

तपाईको प्रतिक्रिया