काठमाडौँ १९ गते साउन । विभिन्न दलका दलित नेताहरु र दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारी वीच भएको झडप करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।
दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । झडपमा घाइते परेको सभासद मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत करिव दुइ दर्जन भन्दा वढि दलित अधिकार कर्मी लगायत नेताहरु झडपमा परी घाइते हुनुभएको छ ।
घाइते भएको मध्ये अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो ।
दलित अधिकार सम्बन्धी संघ संस्थाले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।
दलितमैत्री संविधान जारी गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीसँग भएको झडपमा एक दर्जन सभासद्को हातखुट्टा भाँचिएको छ ।



तपाईको प्रतिक्रिया