Khadya Bibhag

जाँदा जाँदै उपराष्ट्रपतिले किन उठाए बम बारुदको कुरा ?

प्रमुख चार दलको योजनाअनुरुप साउन १५ भित्र नयाँ संविधान जारी भयो भने राष्ट्रपति र उपराष्ट्रपतिको पद स्वतः खारेज हुनेछ । त्यस अवस्थामा उनीहरु चिढिनु अस्वभाविक होइन । राष्ट्रपति डा.रामवरण यादवले अन्तरिम सविधानलाई टकेर टेक ओभर गर्ने तयारीमा छन् भने उपराष्ट्रपति परमानन्द झा खुल्ला रुपमै चार दललाई चुनौति दिइरहेका छन् । मधेशवादी दलका नेतासँगको भेटमा पनि राष्ट्रपति यादवले आफू अन्तरिम सविधानको विपरित नजाने यदि त्यसको हित विपरित सविधान आयो भने त्यसमा हस्ताक्षर नगर्ने भनेका दलका नेताहरु बताएका छन् ।
आफ्नो कार्यकालको उत्तरार्धमा उपराष्ट्रपति परमानन्द झाले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली राज्यसत्ता, राज्यका निकायहरु र ठूला राजनीतिक पार्टीहरुमाथि आफ्नो गम्भीर असन्तुष्टि र आक्रोश पोखेका छन् । मधेशी पत्रकार संघले असार १९ गते आयोजना गरेको दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा आफ्नो मनका अन्तरकुन्तर खोतल्दै उपराष्ट्रपति झाले राज्यसत्ता, राज्यका निकाय र ठूला राजनीतिक पार्टीमाथि अनेक आरोप लगाएका थिए ।
तत्कालिन फोरम नेपालको तर्फबाट उपराष्ट्रपतिमा चुनिएका झाले धोती कुर्ता लगाएर हिन्दी भाषामा सपथ ग्रहण गर्दा गैरमधेशी समुदायबाट त्यसको चर्को विरोध भएको थियो । झाले मधेशी मूलका भएकै कारण संविधान निर्माणको सन्दर्भमा आएको न्यायाधीश गिरिशचन्द्र लालको अन्तरिम आदेशलाई राजनीतिक पार्टीका साथै राज्यका जिम्मेवार निकायले समेत कुनै महत्व नदिएको दावी गरे । झाले आफू मधेशी मूलकै भएकोले उपराष्ट्रपतिमा निर्वा्चित हुने बित्तिकै आफ्नो निवासमा तीन दिनसम्म बम विस्फोट गराइएको घटना पुनः सम्झना गरे । उनले आफू मधेशी मूलकै भएकोले आफ्नो निवासमा भएको बम विस्फोटजस्तो जघन्य अपराध र अपराधीका विरुद्ध राज्यले कुनै चासो नलिएको समेत बताए ।
‘कर्मकाण्ड पूरा गर्न किरात वर्कर्स पार्टीका केही कार्यकर्तालाई समातियो । बमविस्फोट गरेका हुन् भनेर बक्न लगाइयो । मुद्दा चलाइयो । पछि अदालतले पनि सफाइ दियो,’ उपराष्ट्रपति झाको गुनासो थियो । उनले आफ्नो निवासमा बमविस्फोट गराएर आफूलाई मार्न खोज्ने अपराधी को रहेछ भन्ने विषयमा जान्न आफू आज पनि आतुर रहेको बताए । उनले आफू मधेशी भएकै कारण र आफूले मधेशीहरुको पोसाक धोतीकुर्ता लगाएर हिन्दीमा पदको सपथ लिएकै कारण आफ्नो मानमर्दन गरिएको आरोप समेत लगाए ।
उपराष्ट्रपति झाले मधेशी जतिसुकै ठूलो पदमा पुगे पनि उनको यो मुलुकमा कुनै महत्व नरहेको बताए । यसको सबभन्दा ठूलो उदाहरण आफू नै रहेको उनले बताए । उपराष्ट्रपति झाले मुलुकमा उपराष्ट्रपति पदको कुनै काम नरहेको समेत बताए । फेरि कुनै मधेशीलाई उपराष्ट्रपति बनाउने सम्भावनाप्रति लक्षित गर्दै झाले उपराष्ट्रपतिको पदमा नलोभिन मधेशी नेताहरुलाई आग्रह गरे । उपराष्ट्रपति पदमा बस्ने व्यक्तिले आफ्नो देश र समाजका लागि केही गर्न नसक्ने ठोकुवा गर्दै झाले मधेशी नेताहरुलाई भने, ‘उपराष्ट्रपति पदमा बसेर तपाईंहरुले आफ्नो समुदाय र जनताका लागि केही पनि गर्न सक्नुहुन्न । बरु गृहसचिव र अर्थसचिवको पद आफ्नो भागमा पार्नुस् ।’

तपाईको प्रतिक्रिया