-महेश साह कलवार
स्वतन्त्र मधेशका लागि संघर्षरत सिके राउतको अभियानमा लागेका महेश कलवार अभियान छाडेर मधेशी युथ फोर्स गठन गरेका छन् । सिके राउतको अभियान मधेशका लागि गलत अभियान रहेको र विदेशबाट परिचालित रहेको कारण आफूले सो अभियान छाडेको बताएका छन् । आफू स्वतन्त्र मधेशको पक्षमा नभएर संघीयताको पक्षमा रहेका कारण सिके राउतको साथ छाडेको बताउने महेश कलवारसँग सहारा टाइम्ससले गरेको छोटो कुराकानीः
तपाई सिके राउतको स्वतन्त्र मधेश अभियानमा ६ महिनासम्म सक्रिय रहनु भयो फेरि अहिले आएर छोड्नु भएको छ किन ?
–सिके राउतको अभियान स्वतन्त्र मधेशका लागि थियो भने कुरा मलाई थाह थिएन । मैले त मधेशका एउटा बुद्धिजिवि, पढेका लेखेका मान्छे र वैज्ञानिक जस्तो व्यक्तिलाई राज्यले गैर कानुनी ढंगबाट अभिव्यक्ति स्वतन्त्रतको विरुद्ध उहाँलाई समाते छ भनि कारणले राज्यको विरुद्धमा उहाँको साथमा गएको थिए । पछि उहाँ त अलग्गै देशको लागि पो संघर्ष गरिरहेका छन् भनि थाह पाएर अलग भएको हुँ । म त संघीयता पक्षधर मान्छे । म सविधानसभाबाट संघीयता, स्वायत्तता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकका लागि लड्ने पार्टीमा काम गरेको एक कार्यकर्ता हुँ । यदि अलग मधेशका लागि लड्नु पथ्र्यो भने सविधानसभाको विरोध गरेर जानु पथ्र्यो । त्यसैले म सिके राउतको अभियानसँग सहमत नभएर अलग भएको हुँ ।
सिके राउतको स्वतन्त्र मधेश गठबन्धनको हो भने कुरा कहिले थाह पाउनु भयो ?
–स्वतन्त्र गठबन्धन हो भने कुरा बेलाबखतमा सुन्ने गरिन्थ्यो तर अधिकारीक रुपमा आएको थिएन । किनभने यो कुराको अस्वीकार उहाँले अदालतमा पनि गर्नु भएको थियो । उहाँले अदालतमा पनि बयान दिँदा पनि आफू स्वतन्त्र मधेशका लागि होइन, संघीयता, समावेशीताको लागि संघर्ष गरिरहेको भन्नु भएको थियो । त्यो बेलामा म उहाँको अभियानमा सक्रिय थिए । जब धरौटी तिरेर उहाँ बाहिरीनु भयो अनि मात्र स्वतन्त्र गठबन्धनको कुरा बाहिर आयो ।
त्यसो भए स्वतन्त्र मधेश गठबन्धन संगठन गलत भने जस्तो लाग्छ तपाईलाई ?
–स्वतन्त्र मधेश गठबन्धन एउटा एनजियो हो । त्यसले मधेशमा एउटा चेतना फैलाउने काम गरिरहेको छ । एउटा कुनै सस्थालाई मैले गलत भन्न मिल्दैन । आफ्नो ठाउँमा सही होला तर म त्यो अभियानसँग सहमत छैन, जसले देश टुक्राउने कुरा गरिरहेका छन् । तर मलाई स्वतन्त्र मधेश गठबन्धनको बारेमा यहाँ आएर भिन्न मत दिन मन लाग्छ । स्वतन्त्र मधेश गठबन्धन एउटा एनजियो भने त्यसले राजनीतिक गतिविधि गर्न पाउँदैन । राजनीतिक गतिविधि गर्नका लागि राजनीतिक संगठन नै चाहिन्छ । विदेशको डलरबाट चल्ने स्वतन्त्र मधेश गठबन्धनले मधेशको राजनीतिक गतिविधि गर्न पाउने छैन ।
स्वतन्त्र मधेश गठबन्धनको बारेमा तपाईलाई कति थाह छ ?
–सिके राउतको यो नामको एउटा संस्था हो भने सुनेको हुँ । विभिन्न मुलुकमा रहेका अन्य व्यक्तिहरु पनि त्यो गबठन्धनसँग जोडिएका छन् । त्यो नै शंकास्पद व्यक्ति हो । विदेशबाट गठबन्धनमा लगानी गर्नेहरु त्यहाँ किन बसिरहेका छन्, नेपालमा आएर संघर्ष गर्नुपर्ने हो नि तर होइन । उनीहरु विदेशमा बसेका छन् र गबठन्धमा लगानी गरेर देश टुक्राउनमा सहयोग गरिरहेका छन् । मधेश र मधेशी जनताका लागि काम गर्न चाहन्छ भने सम्बन्धित भूगोलमा बसेर काम गर्नु पर्यो न कि विदेशमा बसेर । किनभने स्वतन्त्र मधेश गठबन्धन कुनै राजनीतिक संगठन होइन ।
स्वतन्त्र मधेश गठबन्धन राजनीतिक संगठन होइन भने त्यो हो के ?
–मैले अघि भने नि यो विभिन्न आइएनजीयोबाट सञ्चालित एनजियो हो जसले डलरमा काम गर्छन् ।
स्वतन्त्र मधेश गठबन्धनको विधान पढ्नु भएको छ कि छैन ?
–म त्योसँग सम्बन्धित नभएको कारणले त्यसलाई अध्ययन गर्ने आवश्यकता नै ठानिन् । स्वतन्त्र मधेश गठबन्धनको उद्देश्य गलत हो भने कुरा बुझेर त्यसलाई अध्ययन गर्न उचित ठानिनन् ।
अध्ययन नै नगरिकन त्यसको उद्देश्य गलत हो भने कुरा तपाई कसरी भन्न सक्नु हुन्छ ?
–गलत क्रियाकलापबाट पनि बुझ्न सकिन्छ नि । कुनै पार्टीको विधान के हो सबैले पढेका हुँदैन तर त्यसले गर्ने गतिविधिबाट प्रभावित भएर न जनता जोडिएका हुन्छन् । अभियानमा हिड्दा ठाउँ ठाउँमा मधेश गठबन्धनको नाम लिएको र अलग मधेशको कुरा गरेकोबाट मैले बुझेको हुँ ।
त्यसो भए तपाई राजनीतिक प्राणी, राजनितिक बुझ्ने मान्छे, पढे लेखेका मान्छे भएर अन्जानमा सिके राउतको अभियानमा लाग्नु भयो भने मधेशमा यस्ता कति व्यक्तिहरु होला जो सिके राउतको पक्षमा लागेका होला ?
–म जस्तो यस्ता थुप्रै व्यक्ति छन्, राजनीतिककर्मी छन् जो सिके राउतको जालामा फँसेका छन् र त्यहाँबाट निस्कन चाहन्छन् । शुरुमा मधेशको अधिकारलागि लड्ने । संघीयता, समावेशीताका लागि लड्नका लागि सोझा, सिधा मधेशी जनतालाई मोटीभेट गर्छन्, पछि नेपालबाट अलग हुने कुरा गर्छन् । अनि मात्र सिके राउतको अशलियत थाह हुन्छ । त्यतिबेला त्यहाँबाट निस्कन चाहेका हुन्छन्, तर कुनै पनि संगठनमा आवद्ध भइसकेपछि चाहेको बेला निस्कन चाहियो भने सकिदैन, विस्तारै निस्किनु पर्छ र हेर्नु होला थुप्रै साथीहरु त्यहाँबाट निस्किन्छन् । उहाँ पक्राउ परेको बेलामा विभिन्न दलका युवाहरुले साथ दिएका थिए तर अहिले त्यहाँ दलमा आवद्ध युवाहरु निस्कि सकेका छन् ।
निस्किनुको कारण के हो ?
–मुख्य कुरा मुद्दा नमिलेको हो । उहाँको मुद्दा भनेको स्वतन्त्र देश बनाउने हो । हाम्रो मुद्दा भनेको संघीयतासहितको देश बनाउने हो । आफ्नो पहिचानसहितको संघीयता चाहिन्छ भनि लडिरहेका छौ । यहाँ संघीयताका लागि ५६ जना मात्र होइन १५ सय युवा आफ्नो ज्यानको आहुति दिएको छ । त्यसलाई त्यतिकै खेर जान दिनु हुँदैन जस्तो लागेको छ त्यसैले म संघीयताको लागि लडिरहेको छु ।
तपाई सिके राउतको अभियानमा ६ महिनासम्म निकै सक्रिय भएर लाग्नु भएको थियो, उहाँको संगठन कसरी चलेको छ ?
–मेरो बानी एउटा के हो भने जहाँ सक्रिय हुन्छु त्यहाँ राम्रोसँग हुने, जहाँ सक्रिय छैन त्यहाँको बारेमा मतलबै नराख्ने । विराटनगरमा पक्राउ परेपछि उहाँको समर्थनमा मैतिघर मण्डलामा मैनवत्ति बालेर राज्यको विरोध गरेको थियो । त्यहाँबाट उहाँको अभियानमा लागेको थिए । त्यसपछि काठमाडौमा हुने विभिन्न विरोधका कार्यक्रमहरुमा सहभागि भएको थिए । पुरै सांगठनिक संरचनामा छिरेका थिइन् । त्यसैले त्यति थाह पाउने कुरा पनि हुँदैन । तर एउटा कामको त्यतिबेला देखि नै मैले विमति जनाउँदै आएको थिए । त्यो के हो भने मंसिर १० गतेको सार्क सम्मेलन । मधेशी जनताले त्यत्रो एक रुपियाँको अभियान संचालन गरेर धरौटीमा छोडाउन प्रयास गर्दा सिके राउतले आफू धरौटीबाट रिहाय नहुने भन्नु भएको थियो तर मंसिर १० गते प्रदर्शन गर्ने भनेर एका एक रिहाय हुने कुरा गर्नु भयो र रिहाय पनि हुनुभयो । यो पुरै योजनावद्ध थियो । पहिलेदेखि उहाँको ग्राण्डडिजाइन थियो जुन हामीले बुझेका थिएनौ । यदि मधेशको लागि इमान्दारीपूर्वक काम गर्ने हो कसैको ग्राण्डडिजाइनमा चल्नु हुँदैन भने मेरा बुझाई हो ।
सिके राउतको कसको ग्राण्डडिजाइनमा चल्नु भएको छ त ?
–कसको ग्राण्डडिजाईनमा चल्नु भएको छ त्यसको नाम त म भन्न सक्दिन त्यो त पछि पछि खुल्दै जाला तर यति भन्न सक्छु कि उहाँको जति पनि कामहरु भइरहेका छन् सबै योजनाबद्ध ढंगबाट भइरहेका छन् जुन शंकास्पद छ । र त्यही ग्राण्डडिजाइन र अन्तराष्ट्रिय चलखेलका कारण म टाढिएको पनि हुँ ।
त्यसो भए सिके राउतलाई अन्तराष्ट्रिय सहयोग छ ?
–यसमा दुई मत छैन । केही राष्ट्रहरुको नेपालमा छुट्टै राष्ट्र बनाउने लगानी सिके राउतमाथि छन् । अमेरिका, युरोपियन युनियनलगायतको लगानी रहेको छ उहाँको अभियानमा । तर हेर्दै जानु होला, अहिले उहाँ अन्तराष्ट्रिय सहयोग र समर्थनबाट जुन अभियान चलाई रहनु भएको छ त्यसले अन्ततः मधेशको मुद्दालाई कमजोर गर्नेछ ।
त्यसो भए सिके राउतको अभियानलाई मधेशको आवश्यकता छैन ?
–विल्कुलै छैन । मधेश अहिले त्यो अवस्थामा पुगेको छैन कि अलग भएर काम गर्न सकियोस् । अलग देश भएर टिक्नै सक्दैन । भौगोलिक अवस्थाले गर्दा र आर्थिक अवस्थाले गर्दा, साँस्कृतिक अवस्थाले गर्दा । अहिले नै हेर्नुस् न सिके राउतले नै अलग मधेशको कुरा गरेका छन् तर त्यसको तयारी के छ ? यसरी हावातालमा अलग देशका लागि आन्दोलन हुन्छ त । त्यसका लागि एउटा ठूलो ठूलो फोर्स चाहिन्छ । थिंक ट्याक चाहिन्छ । सल्लाहकार चाहिन्छ । आर्थिक स्रोत साधन चाहिन्छ । रोडम्याप चाहिन्छ । यीमध्ये उहाँसँग केही छैन । उहाँ आफै सबै थोक हुनुहुन्छ । कसैको सल्लाह मान्नु हुन्न । कसैको विचार मान्नु हुन्न ।
यो विषयमा सिके राउतसँग तपाईको कुराकानी भएको छ कि छैन ?
–मैले पटक पटक भनेको छु कि मधेश अलग हुनै सक्दैन । मधेशका लागि अहिलेको आवश्यकता भनेको संघीयता हो । मधेशी जनताले चाहेको जस्तो संघीय राज्य स्थापना गरि दियोस् अरु केही चाहिदैन । पहिला संघीयताको लागि लड्नु पर्छ । यदि संघीयता दिएन भने मात्र स्वतन्त्र मधेशको कुरा गर्नु पर्छ । पहिला आत्मनिर्णको अधिकारसहित स्वायत्त मधेश प्रदेश स्थापनाको कुरा गरौं त्यो भएन भने त्यसपछि हामी सल्लाह गरौला कि अब के गर्नुपर्छ । यदि अलग मधेशकै कुरा हो भने मधेश आन्दोलनकै समयमा यो कुरा किन उठाइएनन् । अन्तरिम सविधान निर्माण भएको बेलामा किन उठाइएनन् । २२ बुँदे र ८ बुँदे सम्झौता हुँदा किन उठाइएनन् । अब अहिले संघीयता र मधेश प्रदेशका लागि संघर्ष भइरहेको छ भने त्यसमा अलग मधेशको कुरा ल्याएर हुन्छ ? यो संघीयतालाई कमजोर बनाउने खेल हो । मधेशको अधिकार नदिलाउने खेल हो । जसका लागि सिके राउत प्रयोग भइरहनु भएको छ ।
यी कुराहरु भन्दा सिके राउतले के जवाफ दिनुभयो त ?
–उहाँले सिधै अलग देश बनाउने कुरा गर्नु हुन्छ । अलग देश बनाएर युएनबाट सहमति लिन्छौ र सहमति लिइसकेपछि मात्र त्यो देशका लागि के के चाहिन्छ त्यतातिर लाग्छौ भन्नुभयो । यहाँ कुरा गर्न सजिलो छ गर्न गाह्रो छ । त्यो अभियानसँग जोडिएका कतिपय साथीहरु विदेशमा छन् । कोही अमेरिकामा छन् । कोही जपानमा, कोही अष्ट्रेलियामा त कोही मलेसिया र कतारमा छन् । त्यहाँबाट उनीहरुले ठूला ठूला कुरा गरिरहेका हुन्छन् । यहाँ कतिको थ्रेट छ भने कुरा उहाँहरुले के थाह । म पनि अभियानमा लाग्दा, नेपाल प्रहरीको अनुसन्धानमा मेरो नाम पहिलो नम्बरमा थियो । दिनदिनै थ्रेट आउथ्यो तर त्यसलाई मैले राजनीतिक रुपमा फेस गरे किनभने म संघीयता पक्षधर थिए । बाहिरबाट हल्ला गर्ने र मर्ने मधेशका युवा । त्यस्तो काम सिके राउतको गठबन्धनबाट भइरहेका छन् । एक आधबाहेक राजनीतिक सोचका मान्छे त्यहाँ कोही पनि हुनुहुन्न । त्यसमा अधिकाँश विद्यार्थी, इन्जियर, डक्टर रहेका छन् त्यसमध्ये अधिकाँश, देश बाहिर रहेका छन् भने कतिपय नेपालमै रहेको छन् । उनीहरु यो संगठनमा लागेर आफ्नो जीवन वर्वाद गरिरहेका छन् । राजनीतिक सोच छैन लहै लहैमा लागेर आफ्नो जीवनसँग खेलबार गरिरहेका छन् । म भन्छु, राजनीतिक नै गर्नुछ भने विदेश छाडेर आउनुस्, पढाई छाडेर आउनुस्, जागिर छाडेर आउनुस् । बाहिर बसेर हुँकार दिएर हुँदैन ।
तपाई अहिले कुन संगठनमा आवद्ध हुनुहुन्छ त ?
–अवद्धताका हिसाबले म राष्ट्रिय मधेश समाजवादी पार्टीमै छु । तर, विभिन्न कारणले त्यहाँ अहिले सक्रिय छैन । मैले एउटा विभिन्न दलमा आवध तथा स्वतन्त्रत युवाहरुलाई मिलाएर मधेशी युथ फोर्स गठन गरेका छु । त्यसको संयोजक म हुँ । त्यसको गठन भएका नौ महिना भएको छ । अहिले त्यसमा पुरा समय दिइरहेको छु । वेरोजगार युवाहरुको मुद्दामा हामी अहिले सक्रिय भएका छौ । अब राजनीतिक रुपममा अगाडि बढाउने सोचमा छौ । विभिन्न राजनीतिक दलका भातृ संगठनसँग सहकार्यको लागि कार्य भइरहेको छ ।



तपाईको प्रतिक्रिया