संविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव लिने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले देशव्यापी रुपमा हाम्रा पार्टीका नेता तथा कार्यकर्तामाथि चरम दमन गरेकोप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले संघीय समाजवादी फोरम, नेपाल लगायत विभिन्न पार्टीका सैयो नेता तथा कार्यकर्तामाथि चरम दमन गरेकोप्रति फोरम नेपाल घोर विरोध एवं भत्र्सना गर्दछ । प्रहरीको घेराबन्दी र बाक्लो उपस्थितिमा सत्तापक्षिय पार्टीका सीमित कार्यकर्ताको उपस्थितिमा नाटकीय ढंगले भइरहेको सुझाव संकलनप्रति फोरम नेपाल आपत्ति प्रकट गर्दछ ।
सुझाव संकलन स्थललाई ब्यारेक झैं प्रहरीको बाक्लो उपस्थिति र घेराबन्दीमा १६ बूँदे सहमतिकर्ता चार दलका नेता कार्यकर्ताबाहेक अन्य पार्टी, कार्यकर्ता र आमजनतालाई आफ्नो राय सुझाव र फरक मत नदिऊन् भनि अघोषित रुपमा निषेध गरेको षड्यन्त्रका बीच फोरम नेपालका नेता कार्यकर्ताले जनता समक्ष कार्यक्रम गरिरहँदा प्रहरीको लाठी चार्जले विभिन्न जिल्लामा सयौं नेता कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
प्रहरीको दमनबाट सप्तरीमा संघीय समाजवादी फोरम, नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, केन्द्रीय सदस्य शैलेन्द्र साह, जिल्ला सदस्य विरेन्द्र माझीलगायत दर्जनौ नेता कार्यकर्ता गम्भीर घाइते भएका छन् । त्यस्तै, रौतहटमा प्रहरीको लाठी चार्जले केन्द्रीय सदस्य बबन सिंहको टाउकोमा गम्भीर चोट लागेको, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेलको हात काटिएको छ । लाठी चार्ज र धरपकडका क्रममा प्रहरीले ६० सेल अश्रु ग्यास प्रहार गरेको र करिब २० राउण्ड हवाई फायर गरी दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् । फोरम नेपाल लमजुङ्गका जिल्ला अध्यक्ष पृथ्वीमान घले लगायत ६ जनालाई गिरफ्तार गरिएको छ । प्रहरी दमनले बाराका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै, इलामका जिल्ला अध्यक्ष देवेन्द्र राई लगायत २० जना नेता कार्यकर्तालाई पक्राऊ गरिएको छ । डोटीमा जिल्ला सदस्य श्रीचन्द्र श्रेष्ठ लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मस्यौदाले आमजनताको लोकतन्त्र, पहिचान, संघीयता, समानुपातिक समावेशिता र गणतन्त्र आदिलाई सम्बोधन गर्न नसकेको भन्दै जनताबीच कार्यक्रम गरिएको अवस्थामा प्रहरीले व्यापक दमन गरेकोप्रति फोरम नेपालको आपत्ति छ । जनताको लोकतान्त्रिक अधिकारमाथि बन्देज लगाउँदै सर्वसाधरण जनतामाथिको प्रहरी दमन नरोकिए कडा प्रतिकार गर्न बाध्य हुने संघीय समाजवादी फोरम नेपाल चेतावनी दिन चाहन्छ । प्रहरी दमनमा घाइतेको शीघ्र उपचार, गिरफ्तार नेता कार्यकर्ताको तत्काल रिहाई र प्रहरी दमन अविलम्ब बन्द गर्न संघीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ । ४ साउन २०७२
उपेन्द्र यादव
अध्यक्ष
संघीय समाजवादी फोरम, नेपाल



तपाईको प्रतिक्रिया