–बीपी यादव
केन्द्रीय सदस्य, तराई मधेश लोकतान्त्रिक पार्टी
तपाई हालै भारतको एक भ्रमण सिध्याएर आउनु भयो, भ्रमणको उद्देश्य के थियो ?
–यो भ्रमण नितान्त मेरो व्यक्तिगत राजनीतिक भ्रमण थियो । देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा त्यहाँ नेताहरुलाई अवगत गराउन त्यहाँ गएको थियो । १२ बुँदे सम्झौतादेखि ८ बुँदे सम्झौतासम्म भारत साक्षि रहेको छ । प्रत्येक सम्झौतामा भारतको संलग्नता देखिएको छ । अर्थात देशमा भएको मुख्य दुई आन्दोलन जनयुद्ध र मधेश आन्दोलनलाई सेफलाइण्डिगं गराउन भारतको सहयोग छ । देशमा अहिले जुन संकट देखिएको छ त्यसमा पनि भारतले सहयोग गर्नुपर्छ । सम्झौता गराउन जसरी भारतले सहयोग गरे त्यसरी नै अहिले त्यसलाई कार्यान्वयन गराउन भारतले सहयोग गर्नुपर्छ । त्यही भन्न गएको थिए ।
भारतबाट कस्तो सहयोग चाहिन्छ स्पष्ट गर्दिनुस् न ।
–मधेश आन्दोलनपछि ८ बुँदे सम्झौता भएको थियो त्यसमा भारतको पनि सहयोग थियो । अहिले आएको मस्यौदामा ती सम्झौताको सम्बोधन गरेको छैन । सम्झौता विपरित मस्यौदा आएको छ । जसरी सम्झौता हुँदा भारतले सहयोग गरेका थिए आज त्यही सम्झौता अनुसार मस्यौदा तयार भएको छैन अब त्यसमा भारतले सहयोग गर्नुपर्छ ।
उहाँहरुले के भन्नुभयो त ?
–मैले सारा विषयवस्तुको बारेमा भनेपछि उहाँहरुले अहिले भारत आउने नेपाली नेताहरुसँग यो विषयमा कुरा गर्ने भन्नुभएको छ । जो जो नेताहरु यहाँ आउनु हुन्छ ती सबैसँग यस विषयमा कुरा गर्ने, जोसँग यहाँ भेट हुँदैन, त्यो सँग विभिन्न माध्यमबाट सम्पर्क गरि भन्ने कुरा भन्नु भएको छ । मैले राखेको कुराप्रति उहाँहरु सकारात्मक देखिनु भयो ।
को कोसँग भेट्नु भो त ?
–भारतीय जनता पार्टीका उपाध्यक्ष भागत सिह कौसयारी, काँग्रेसका नेता करण सिह, भारतीय सेनाका पूर्व जर्नल अशोक मेहता, शरद यादव, मुलायमसिह यादवलगायतका नेताहरुसँग भेटे । विभिन्न दलका विद्यायक, संसदहरुसँग पनि भेटे । त्यस अलवा केही स्वतन्त्र व्यक्तिहरुसँग भेटघाट भयो ।
भनिन्छ, मधेशी मोर्चाको तर्फबाट बीपी यादवलाई दिल्ली पठाएको थियो रे सही हो ?
–होइन, यो सरासर गलत कुरा हो । मलाई कसैले पठाएको होइन । म आफ्नो बुद्धि विवेकले गएको हुँ । अरु जाँदा चोराएर जान्छ र चोराएर आउँछन् तर म खुल्लेयाम गए र खुल्लेयाम आए र आज तपाईसँग यस विषयमा कुरा पनि गरिरहेको छु ।
पार्टीलाई जानकारी नदिइकन भारत जानु भयो र त्यहाँ विभिन्न नेताहरुसँग भेट्नुभयो पार्टीले तपाईलाई कारवाही गर्दैनन् ?
–कारवाही त्यस्तोलाई गर्छन् जो गल्ती गर्छन् तर मैले कारवाही गर्ने खालको कुनै त्यस्तो गल्ति गरेको छैन । म मधेशको पक्षमा काम गर्नका लागि त्यहाँ गएको थिए । जुन कुरा भन्नका लागि दलका अध्यक्षहरु भारतीय दूतावास गएका थिए त्यही कुरा भन्नका लागि म दिल्ली गएका थिए । मैले कुनै गल्ति गरेको छैन । पार्टीको हित विपरित पनि कुनै गल्ति गरेको छैन भने पार्टीले किन कारवाही गर्छ ।
आएपछि तपाई आफ्नो पार्टीका अध्यक्षलाई भेट्नु भो ?
–भेटे ।
के भन्नु भयो उहाँलाई ?
–त्यही समान्य राजनीतिक कुराकानी ।
तपाईले भेटेका नेताहरुको मधेशप्रतिको धारणा कस्तो पाउनु भयो ?
–मधेशको बारेमा मात्र होइन सारा नेपालको बारेमा उहाँहरु सकारात्मक हुनुहुन्छ । नेपालको समृद्धि, विकास, अमन चयन होस् भने कुरा उहाँहरु चाहनु भएको छ । सबैलाई सहमतिमा लिएर सविधान निर्माण होस् भनि चाहेका छन् । पार्टिकुलर मधेशको बारेमा मात्र होइन कि पुरै नेपालको बारेमा उहाँहरु चिन्तित हुनुहुन्छ ।
तपाई मधेशी नेता भएको कारणले पार्टिकुलरी मधेशको बारेमा कुरा भएको होला नि ?
–कुरा भयो तर उहाँहरु मधेशको बारेमा मात्र होइन पुरै नेपालको बारेमा चिन्ता जाहेर गर्नुभयो । नेपाल भित्रकै मधेश भएको कारणले नेपालको हित भयो भने मधेशको पनि आफै हित हुन्छ । मैले मधेशको बारेमा कुरा गरेपनि उहाँहरु पुरै नेपालको कुरा गर्नुभयो । तर एउटा कुरा तपाईलाई भनि हालौ । अब मधेश मधेश मात्र भनेर मधेशको हित हुँदैन । मधेशी भएर पुरै नेपालको जानकारी राख्नुपर्छ । पुरै नेपालको बारेमा बोल्नुपर्छ । अहिले ८ प्रदेशको बारेमा कुरा भएको छ । कुनै मधेशी नेतालाई मधेशको दुई प्रदेशको बारेमा सोध्नुस् सबै भन्दिछ तर बाँकी ६ प्रदेशको बारेमा केही भन्न सक्दैन तर पहाडिहरु आठै प्रदेशको जानकारी राखेका हुन्छन् र त्यस्तै ब्रिफ पनि गर्छन् । मधेशी नेताहरुले भारतीय नेताहरुलाई राम्रोसँग व्रिफ गरिरहेका छैन । मैले भारतीय नेताहरुसँग कुरा गर्दा एउटा कुरा के थाह पाए भने जति उहाँहरुलाई समग्र नेपालको समस्या बारे थाह छ त्यही मधेशको समस्या बारे त्यति थाह छैन । मैले मधेशको बारेमा जानकारी गराउँदा उहाँहरु, ‘ए ऐसा भि होत है’ भन्नु हुन्थ्यो । यसबाट के बुझ्न सकिन्छ कि मधेशी नेताहरुले भारतलाई आफ्नो समस्याको बारेमा बुझाउन सकेको छैन । मधेशवादी दलमा परराष्ट्र नीतिको बारेमा कहिले चर्चा नै हुँदैन । विभागको त कुरै बेग्लै । अन्य दलहरुमा हेर्नु भयो भने अरु विभाग जस्तै विदेश विभाग पनि त्यतिकै बलियो हुन्छ । कुटनीतिक रुपमा पनि बलियो हुन्छ तर मधेशवादी दलमा त्यस्तै देखिएको छैन ।
तपाईले त सम्झाउनु भएको होला नि भारतीय नेताहरुलाई ?
–एक दुई दिन यो स्तरको भेटले मधेशको बारेमा के भन्न सकिन्छ र के सम्झाउन सकिन्छ तर मैले भ्याएसम्मको कुराहरु बुझाए र सम्झाए ।
अहिले आएको सविधानको प्रारम्भिक मस्यौदाको बारेमा भारतीय नेताहरुको कस्तो बुझाई छ ?
–मस्यौदाको बारेमा पहाडि नेताहरुले जसरी ब्रिफ गरेका छन् । त्यसरी नै बुझेका छन् । नेपालमा संघीयतासहितको सविधान आइरहेको कुरा उहाँहरुले बुझ्नु भएको छ । नेपालका उत्पीडित जनताले अब अधिकारसहितको सविधान पाउने भए ती कुराहरु बुझ्नु भएको छ । अहिले सविधान जारी गर्ने र पछि सिमाकंन र नामकंनको विषयमा टुगों लगाउने कुरा पहाडि नेताहरुले भनि सकेका छन् । तर मस्यौदामा अरु के के चाहिन्छन्, के नहुँदा के समस्या हुन्छ भने कुराको जानकारी उहाँहरुलाई छैन र कसैले गराएको पनि थिएन । उहाँहरुलाई यति थाह छ कि नेपालमा अब सविधान बन्ने भयो ।
तपाईले के के भन्नुभयो ?
–अन्तरिम सविधान अनुसार सविधान आएन भने नेपालमा विद्रोह हुन्छ । र, त्यो विद्रोहले विहार, युपीलगायत नेपालको छेउ छाउलाई पनि प्रभावित गर्छ त्यसैले नेपालमा त्यस्तो नहोस् भनि तपाईहरुले सहयोग गर्नुपर्छ मैले भने ।
त्यसो भए मधेशवादी दलले शुरु गरेको आन्दोलनलाई भारतको सहयोग छ ?
–मैले त्यस्तो पाइन । मैले अघि पनि भने नि कि भारत मधेशी, पहाडि, दलित वा अन्य पार्टिकुलरी हेरेको छैन । समग्र नेपाललाई हेरेको छ । न उनले आन्दोलन गर भन्छन्, न उनले आन्दोलन नगर भन्छन् । नेपालमा अमन चयन कसरी रहन्छ । नेपाल शान्त कसरी रहन्छ त्यसको चिन्ता मात्र रहेको छ ।
मधेशवादी दलका नेताहरुले भारतसँग हाम्रो बेटी रोटीको सम्बन्ध रहेको छ भन्छन् नि ?
–बेटी रोटीकै आधारमा भारतले मधेशीलाई सहयोग गर्ने हो भने त्यसमा सबभन्दा अगाडि पहाडि रहेको छ । पहाडिहरुको भारतका सबभन्दा हाइप्रोफाइल भएको व्यक्तिको घरमा शादी विवाह भएको छ । भारतका करण सिहदेखि लिएर नेपालका पशुपति शम्शेर राणालाई हेर्नुस् । यस्ता धेरै नेपाल र भारतका परिवारहरु छन् जो मधेशीको हकमा धेरै अगाडि छन् । मधेशीहरुको विहार र युपीसम्म सम्बन्ध रहेको देखिन्छ तर पहाडिको पुरै भारतमा छ । भित्री भारतसम्म रहेको छ । बेटी रोटीको कुरा आउँदा पहाडिहरु नै अगाडि हुन्छ । बेटीरोटीको कुरा हुँदा करणसिहले पहाडितिर हेर्छन् कि मधेशतिर । त्यसैले मधेशले बेटीरोटीको कुरा गर्नुभन्दा पनि आफ्नो पहिचान बनाउनु पर्छ आफ्नो पहुँच बनाउनु पर्छ ।







तपाईको प्रतिक्रिया