Khadya Bibhag

सिके राउतको बारेमा यस्तो पो आयो कुरो

नेपाल प्रहरी र जनपदद्वारा डा. सी. के. राउतको पारिवारिक सुरक्षा तथा गोपनियतामा हस्तक्षेप; राती ११:३० बजे सुतेको बेलामा समेत घरको झ्यालबाट चियाउने गरेको; त्रास र तनावमा डा. राउतको परिवार सुत्न बाध्य: प्रेस विज्ञप्ति
****************************************************************
राजविराज, २०७२ असार १८ गते। विगतका केही महिनादेखि डा. सी. के. राउतको निवासस्थान वरिपरि सादा पोशाकका नेपाल प्रहरी, सेना र जनपदका कर्मचारीहरूको प्रत्यक्ष उपस्थिति रहेको कुरा स्थानीय माझ विदितै छ। सार्वजनिक स्थलमा रहेर निगरानी गर्नु उनीहरूले आफ्नो काम गरेको र आफ्नो जागिर प्रतिको कर्त्तब्य पालन गरिरहेको कुरा हामीले बुझ्दै आएका छौं। तिनीहरूको संख्या प्राय: २ देखि १२-१४ जना सम्मै हुने गरेको छ। कतै कुनै कार्यक्रम भइरहेको वा डा. राउत घरवाहिर निस्कन सक्ने कुराको अनुमान भएमा उनीहरूको संख्या ह्वात्तै बढने गरेको छ। २४ सै घंटा निगरानी गर्न तिनीहरू मध्ये २-३ जना घर नजिकै डेरा लिएर समेत बस्न थालेका छन्, र तिनीहरू छतबाट २४सै घंटा निगरानी गरिरहेका हुन्छन्। स्मरण रहोस्, निगरानी गर्न महिला प्रहरी र जनपदहरू समेत खटाइएका छन्।
तर त्यसकै नाममा विगतका हप्ताहरूमा प्रहरी र जनपदहरूद्वारा उग्र रूपमा डा. राउतको पारिवारिक सुरक्षा तथा गोपनीयतामा हस्तक्षेप भइरहेको कुरा सर्वसाधारण माझ जानकारी गराउन चाहन्छौं। तिनीहरू डा. राउतको घरको कम्पाउन्ड भित्र अनधिकृत रूपमा जतिसुकै बेला छिर्ने, घरका वृद्ध सदस्य, महिला र बच्चाहरूसँग केरकार गर्ने, कोठाभित्र यताउता हेरिराख्ने गतिविधिहरू गर्दै आएका छन्। गएको हप्ता त झन् महिला प्रहरी/जनपद सहित तिनीहरू राती ११:३० बजे तिर छिमेकीको बन्दै गरेको घरमा अनधिकृत रूपमा प्रवेश गर्दै छतमा आएर डा. राउतको घरको झ्यालबाट चियाएर समेत हेरे। तिनीहरूले डा. राउतको घर भित्रको तस्वीर खिंचेको वा न खिचेंको भने थाहा हुन सकेन। त्यो क्रम बारम्बार यो हप्ता पनि दोहरिराख्यो। राती १:००-२:०० बजे सम्मै बाइकमा चढेर घरको चक्कर लगाउने काम पनि नेपाल प्रहरी र जनपदबाट भइरहेको छ। यसरी नेपाल प्रहरी र जनपद मध्य-राती कतिखेर आएर झ्यालबाट फेरि चियाउने हो कि कताबाट घर भित्र अनधिकृत रूपमा प्रवेश गर्ने हो भन्ने तनाव र त्रासमा डा. राउतका परिवारजन सुत्न बाध्य छन्।
यसरी डा. राउतको पारिवारिक सुरक्षा तथा गोपनीयतामा नै नेपाल प्रहरी र जनपदबाट आँच आउने किसिमको हस्तक्षेप भइराखेको हुँदा हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं। नेपाल प्रहरी/जनपद र नेपाली सेनालाई उनीहरूले गर्ने गरेको कर्त्तब्यपालनको सम्मान गर्दै कम्पाउन्डबाहिर वा सार्वजनिक स्थलबाट डा. राउतको पारिवारिक सुरक्षा तथा गोपनियतामाथि आँच नआउने गरी आफ्नो काम गर्नु हुन अनुरोध गर्दछौं। साथै नेपाल सरकारका सुरक्षाकर्मीहरूद्वारा राती यतिबिध्न नजीक आएर झ्यालबाटै चियाउने जस्ता गतिविधिबाट परिवारका कुनै सदस्यलाई केही हानी-नोक्सानी भएमा त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने कुरा पनि हामी जाहेर गराउन चाहन्छौं।
स्मरणीय छ पछिल्लो पटक डा. राउत असार ९ गते मात्रै जासूसहरूको आँखा छलेर घर वाहिर निस्कन सफल भएका थिए, तर लहानमा गिरफ्तार भएका थिए, भने त्यो भन्दा अगाडी जेठ १२ गते मात्रै घरबाट निस्कन सकेका डा. राउत ईटहरीबाट गिरफ्तार भएका थिए। यसरी डा. राउतले विशेष अदालतबाट राज्यविप्लवको मुद्दामा सफाई पाएपनि नेपाल सरकारले अघोषित रूपमा उहाँलाई नजरबन्दको स्थितिमा राख्दै आएको छ।
सम्पर्क 
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन 
फोन: +977-9847038322 
इमेल: [email protected]

तपाईको प्रतिक्रिया