काठमाडौँ, असार १४ गते । दिउँसो ३ बजेका लागि बोलाईको बैठक मस्यौदा तयार नभएको कारण राती ७ बजेको लागि सारिएको थियो तर त्यसमा अझै विवाद नमिलेपछि सो बैठकलाई राती ९ बजेका लागि संविधानसभाको बैठक तय गरिएको छ ।
मस्यौदा समितिमा शीर्ष दलहरुबीच विवाद हुँदा सविधानसभाको बैठक सरेको हो । ९ बजे पनि बस्छ कि बस्दैन भने कुरामा आशंका रहेको सविधानसभा भवनमा रहेका भारतीय टेलिभजन आजतकका पत्रकार पंकज दासले जनाएको छ । महत्वपूर्ण तथा विवादस्पद निर्णय जहिले पनि मध्यरातमा हुने गरेको छ ।
संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवाद समाधान गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताए ।
संविधानसभाको बैठक यसअघि आज अपराह्न ३ बजेका लागि तय गरिएकामा मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः ७ बजेका लागि निर्धारण गरिएको थियो ।
आज बिहान ११ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भएपनि केही संवैधानिक भाषामा सहमति हुन नसकेपछि हालसम्म प्रतिवेदन बुझाइएको छैन । समितिले पारित गरेको मस्यौदाका केही शब्दावलीमा एमाओवादी र मधेसकेन्द्रित् दलका सभासद्ले असहमति प्रकट गरेपछि छलफलको समय लम्बिएको हो ।
समितिले तयार पारेको प्रतिवेदनमा रहेका विवादित शब्द मिलाउन प्रमुख दलका शीर्ष नेताका साथैे दोस्रो तहका नेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् । सभासद् भने बैठकको पर्खाइमा संविधानसभा भवन नयाँ बानेश्वरमा छन् ।
सातबजेको बैठकका लागि तयारी भएर आइसकेका तर अब दुईघण्टाका लागि कहाँ जाने भन्दै बानेश्वरमा अलपत्र जस्तो देखिएको छ । कोही सविधानसभा परिसरमा गफ गरेर बसेका छन् भने कोही क्यान्टीनमा बसेका छन् भने कोही बानेश्वरको चौकमा घुमी रहेका छन् । नौ बजे पनि हुने कि नहुने कुरामा अन्यौल देखिएकोले झन सभासद्हरु अलपत्रजस्तो देखिएको छ ।
दलबीच बहुलवाद, धार्मिक स्वतन्त्रता । धर्म्निरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा बढी विवाद रहेको बुझिएको छ । विवादित विषयमा सहमति जुटाउनका लागि अहिले सिंहदरबारमा प्रमुख दलको दोस्रो तहका नेता सक्रिय रुपमा लाग्नुभएको छ ।



तपाईको प्रतिक्रिया