राजविराज, असार १२ गते । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका वर्तमान कार्यसमितिको क्रियाकलाप आम पत्रकारको हित विपरित रहेको ठहर गर्दै त्यस विरुद्ध आज संघर्ष समिति गठन गरिएको छ ।
राजविराजस्थित जेसिज भवनमा सम्पन्न पत्रकारहरुको भेलाले जितेन्द्र खड्गाको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । पत्रकार महासंघका पूर्व अध्यक्षहरु, केन्द्रिय पार्षद्, सल्लाहकार, वर्तमान कार्य समितिका केही पदाधिकारीसमेतको संयुक्त भेलाले गठन गरेको संघर्ष समितिको सदस्यमा श्यामसुन्दर यादव, हेम शंकर सिंह, माला कर्ण, रामनारायण विश्वास, देवराम यादव, शिवनारायण साह, भोला पासवान, नवीन गुप्ता, जितेन्द्र झा र कृष्णदेव यादव रहेका छन् । संघर्ष समितिको सल्लाहकारमा विष्णु कुमार मण्डल, अनिल कुमार अनल, धीरेन्द्र प्रसाद साह, सुरेन्द्र प्रसाद गुप्ता र राधेश्याम रमण रहेका छन् ।
राष्ट्रिय मिडिया पत्रकार सञ्जालको समन्वयमा आयोजना गरिएको पत्रकारहरुको भेलाले महासंघ शाखा सप्तरीको कार्यसमितिको गतिविधी आम पत्रकारहरुको हित विपरित रहेको ठहर गर्दै त्यस्ता कार्यहरुलाई रोक्न विभिन्न चरणवद्ध संघर्षका कार्यक्रमहरु गर्ने सर्वसम्मत निर्णय गरेको छ । असार १३ गते महासंघ शाखालाई आइतवार २४ घण्टे चेतावनीसहितको ज्ञापन–पत्र बुझाउने निर्णय भएको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाले जानकारी दिए ।
उनका अनुसार माग पुरा नभए असार १५ गते विहान ११ बजे महासंघको कार्यसमितिलाई कार्यालय प्रवेशमा रोक लगाउने गरी दुई घण्टा धर्ना बस्ने कार्यक्रम तय भएको छ । तत्पश्चात पनि माग पुरा नभए कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय भएको उनले बताए । महासंघको मुख्यद्वारमा अनिश्चितकालिन तालाबन्दी गरिए पछि पनि माग पुरा नभए विशेष साधारणसभा बोलाउने तयारी गर्ने तथा पत्रकारहरुसँग बृहत छलफल गरी सशक्त रुपमा अगाडि बढ्ने निर्णय भएको संघर्ष समितिका संयोजक खड्गाले बताए ।



तपाईको प्रतिक्रिया