वीरगन्ज, जेठ ४ गते । गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ ।
विनाशकारी भूकम्पका कारण भन्सार कार्यालयको राजस्व असुलीमा ठूलो घाटा लागेको छ । नेपालकै प्रमुख भन्सार असुली केन्द्रको राजस्व असुलीमा वैशाख महिनामा मात्र करिब ३२ प्रतिशतले घटेको छ । वीरगन्जका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीका अनुसार भूकम्पका कारण औद्योगिक कच्चा पदार्थ, व्यापारिक सामान र पेट्रोलियम पदार्थलगायतका सामानको आयात घटेका कारण भन्सार असुलीमा कमी आएको हो ।
भन्सार कार्यालयले दैनिक सरदर रु ३० देखि रु ३२ करोड राजस्व असुली गर्दै आएको थियो । तर भूकम्प तथा पराकम्पन गएपछि दैनिक सरदर रु १४÷१५ करोड राजस्व असुली भइरहेको् छ । “भूकम्पको डर त्रासले भारतीय नम्बरका मालबाहक ट्रकका चालक सामान लिएर नेपाल आउन नमान्दा आयात निर्यातमा कमी आएपछि राजस्व असुलीमा कमी आएको हो,” रेग्मीले भन्नुभयो ।
वैशाख महिनाका लागि वीरगन्ज भन्सार कार्यालयले रु आठ अर्ब २३ करोड एक लाख ५१ हजार राजस्व असुलीको लक्ष्य लिएकोमा कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ६१ करोड ७४ लाख २२ हजार अर्थात् ६८ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत अर्थात् रु दुई अर्ब ६१ करोड २७ लाख २८ हजार कम हो ।
वैशाख महिनामा कार्यालयले भन्सार मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ४९ करोड ७१ लाख ९२ हजार, महसुलतर्फ रु दुई अर्ब २२ करोड ४० लाख ८७ हजार र अन्तःशुल्कतर्फ रु ८४ करोड ६५ लाख ७५ हजार राजस्व असुली गरेको हो ।
भूकम्पपछि वीरगन्ज बजारमा व्यापारिक चहलपहल नहु“दा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका औद्योगिक उत्पादनमा समेत उल्लेखनीय कमी आएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाका अनुसार वीरगन्जका व्यापारी र उद्योगीको प्रमुख बजार भनेको नै काठमाडौँ, पोखरा र त्यसका आसपासका बजार हुन् । तर विनाशकारी भूकम्पका कारण ती बजारमा उपभोक्ताको चहलपहल नहुँदा सामान उत्पादन गर्ने र आयात गर्ने कार्य प्रभावित भएको हो ।
“प्रभावित क्षेत्रको जनजीवन सामान्य भएर बजारमा चहलपहल नभएसम्म औद्योगिक व्यापार र आयात निर्यात बढ्ने स्थिति देखिएको छैन्” उहाँले भन्नुभयो ।
भूकम्पकै कारण माग नभएपछि वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका औद्योगिक उत्पादन ५० प्रतिशतभन्दा बढीले कटौती गर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोककुमार वैद्यले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया