![]() |
| file photo |
धादिङ, ९ वैशाख । त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा आठ महिला र नौ पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
तेह्र जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस नौबिसे गाविस वडा–८ झ्याप्ले खोलास्थित सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो । एक सवारी साधनलाई उछिनेर अर्को मोटरसाइकललाई ठाउँ दिन खोज्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पशुपतिनाथको दर्शन गरेर भारतको गोरखपुरका लागि छुटेको सो बसमा ४५ तीर्थालु रहेको बताइएको छ । घाइतेहरुको काठमाडौँस्थित शिक्षण अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी उद्धार कार्यमा जुटेका थिए । सशस्त्र प्रहरीको विशेष तालिम प्राप्त उद्धारकर्तासमेत उद्धारमा सहभागी भएको दुर्घटनास्थलमा खटिनुभएका सशस्त्र प्रहरी बल नीलबाराही गण काठमाडौँका कालीदास भौवुजीले बताउनुभयो । घटनास्थलमा उद्धार कार्य जारी छ ।



तपाईको प्रतिक्रिया