रौतहट, ६ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमतीय सविधान निर्माणप्रति प्रतिवद्धता रहेको बताउनु भएकोछ ।
गृह जिल्ला रौतहटको सदरमुकाम गौरको रामजानकी धर्मशालामा पार्टीको क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उहाँले आन्दोलनरत दललाई सहमतिमा ल्याउन पार्टीले अधिकतम लचकता अपनाउने बताउनु भयो ।
भूमि–सुधार तथा व्यवस्था मन्त्रालयले सेवा केन्द्र स्थापना गर्न गरेको निर्णय फिर्ता गराउन आपूmले पहल गर्ने पनि उहाँले बताउनु भयो । सो क्रममा क्षेत्र नम्बर १ को अधिवेशनले पुनः दोस्रोपटक क्षेत्रीय इन्चार्जमा भिखारी राय यादवलाई सर्वसम्मतीले चयन गरेको छ ।
सो समितिका उपाध्यक्ष विश्वनाथ साह, सचिव सन्तोष झा, सदस्यहरुमा शेख सागिरलगायत ३१ सदस्यीय समिति चयन गरेको पार्टी कार्यालय रौतहटले जनाएको छ । सो अवसरमा सभासद डा वंशिधर मिश्र, लालबाबु राययादव, पार्टी जिल्ला अध्यक्ष कमल यादव, राष्ट्रिय परिषद् सदस्य रेवन्त झालगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, जिल्लाको गरुडास्थित तुलसीलाल स्मृति भवनमा आज एक समारोहबीच २३ जना आन्दोलनकारीलाई सम्मान गरिएको छ । स्वर्गीय तुलसीलाल अमात्यसँग मिलेर २००९ सालमा भएको किसान आन्दोलनमा सहभागी २३ जनालाई दोसल्ला ओढाई नेता नेपालले सम्मानित गर्नुभएको हो ।
आन्दोलनमा सहभागी भई हाल निधन भएका परिवारजनलाई सम्मानित गरिएको हो । यसैगरी, सेवा केन्द्र चन्द्रपुरमा स्थापना गर्न गरिएको निर्णय फिर्ता लिन उद्योग वाणिज्य सङ्घ रौतहटले आज नेता नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।



तपाईको प्रतिक्रिया